स्थानीय तहका केही कमीकमजोरी हुन सक्छन् ः प्रम ओली |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालसालै स्थानीय सरकारहरूले सोचविचारै नगरी लगाउन थालेको करका बारेमा बचाउ गरेका छन् । उनले भनेका छन्, ‘भर्खरै शुरू भएको स्थानीय तहका केही कमीकमजोरी हुन सक्छन्, सिंहदरबारको अधिकार गाउँमा पुगेको छ, केकेमा कर लगाएर बबण्डर छ । भर्खर नाच्न सिक्दै छ । अलिअलि स्टेप त बिग्रिन्छ नि ।’ प्रम ओलीले ११औं सूचना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त भनाइ राखेका हुन् ।
उनले नेपालीहरू धनमा गरिब भए पनि सरकारमा धनी भएको बताएका छन् । अहिले केन्द्रसँग प्रदेशको अधिकार प्राप्तिका लागि र स्थानीय तहको प्रदेशसँग अधिकार प्राप्तिको लडाइँ चलिरहेको उनको भनाइ थियो ।
भदौ १ बाट लागू भएको मुलुकी देवानीसंहिता र मुलुकी अपराध संहिताको नबुझीकन विरोध भइरहेको उनले बताए । उनका अनुसार ३ करोड जनता छन्, सबैको आ–आफ्नै विचार, सोच हुन्छ, अलिअलि विमति त भइ नै हालछ नि ।’ तर नबुझी हावाको भरमा हिड्नु नहुने उनको कथन थियो ।
संविधानको ४८औं धारामा अलिकति कर्तव्य उल्लेख गरे पनि कर्तव्य पालना गर्नतर्फ कसैको चासो नगएको प्रम ओलीले बताए । विरोध गर्नेलाई बुझेर मात्र कलम चलाउन सुझाव दिँदै उनले भने, ‘भोलि नातिले हजुरबा, तपाईंले यस्तो लेख्नुभएको रैछ नि भन्दा लाज नहोस् ।’ उनले सूचनाको हकबारे राष्ट्रिय सुरक्षा र गोपनीयता राष्ट्रको हितका लागि कायम राख्ने बताए ।