केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सकियो | साढे तीन खर्ब लागत अनुमान
काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गअन्तरगत नेपालभित्रको रसुवागढी–काठमाडौं रेलमार्ग खण्ड निर्माणका लागि २ खर्ब ५५ अर्ब रुपैयाँ खर्च हुने भएको छ । यो रेलमार्ग करिब ७२.२५ किलोमिटरको हुनेछ । यसअनुसार एक किलोमिटरमा सरकारले ३ अर्ब ५५ करोड खर्चिनुपर्ने अवस्था देखिएको छ । चीनले तयार गरेको प्रारम्भिक सम्भाव्यता रिपोर्टमा यो रेलमार्ग पुरा हुन ९ वर्ष समय लाग्ने उल्लेख छ ।
यो रेलमार्गको ९८.५ प्रतिशत पुल र टनेलमा निर्माण हुनेछ । बाँकी रहेको १.५ प्रतिशत मात्रै जमिनमा रहनेछ । यो रेलमार्ग संसारकै कठिनमध्ये एक भएको प्रतिवेदन देखाएको बताइएको छ ।
रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो । गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन गर्नेबारे सम्झौता गरेर फर्किएको थियो । त्यसलगत्तै जेठबाटै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो । चिनियाँ प्राविधिकहरुले तयार पारेको उक्त प्रतिवेदनमाथि छलफल गर्नका लागि नेपाली टोली शनिवार चीन प्रस्थान गरि सकेको छ ।
चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ । हाल चीनतर्फ ल्हासा–सिगात्से रेलमार्ग निर्माणाधीन छ । त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ । उक्त मार्गलाई चीनको सहयोगमा काठमाडौंसम्म जोड्ने योजना छ । अब दुई सरकारका बीचमा रेलमार्ग कुन लगानी मोडालिटीमा बनाउने भन्नेबारे छलफल हुनेछ ।