नेपालमै पहिलोपटक सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुँदै | भाडा तिर्ने र पैसा फिर्ता लिने झन्झटबाट मुक्ति, स्मार्ट कार्ड ट्याप गरेपछि सिधै गन्तव्यमा
काठमाडौं । नेपालमा अब लोकल सार्वजनिक यातायातमा यात्रा गर्दा झर्ने बेलामा पैसा तिर्ने झन्झटबाट नेपाली यात्रुहरू मुक्त हुने भएका छन् । अन्तरराष्ट्रिय जगत्मा धेरै पहिलेदेखि नै शुरू भएको इ–टिकेटिङ तथा स्मार्ट कार्डको प्रयोग बल्ल अहिले नेपालमा पनि लागू हुने भएको छ । नेपालमै पहिलोपल्ट सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुने भएपछि नेपाली यात्रुहरूले पैसा तिरिरहनुपर्ने झन्झटबाट मुक्त हुने भएका हुन् । नेपाल बैंकको सहकार्यमा एनक्लाउड प्रालिले साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा नेपालमै पहिलोपटक त्यस्तो प्रविधि लागू गर्ने भएको हो ।
अब लागू हुने भनिएको प्रविधिमा नगद टिकट प्रिण्टिङ तथा स्मार्ट कार्ड दुवैको व्यवस्था गरिएको छ । आगामी दिनमा स्मार्ट कार्डलाई अन्य क्षेत्रमा जस्तै पेट्रोलपम्प, पसल, पार्किङ, विद्यालय तथा कलेजमा समेत प्रयोग गर्न सकिने एनक्लाउड प्रालिले बताएको छ ।
के हो स्मार्ट कार्ड ?
स्मार्ट कार्ड एक प्रकारको कन्ट्याक्टलेस कार्ड हो । यसबाट सजिलै भुक्तानी गर्न सकिन्छ । स्मार्ट कार्ड पैसाको सट्टामा प्रविधिअनुसार प्रयोग गर्न सकिन्छ । यो कार्ड बसका सहचालकसँग किन्न सकिनेछ ।
इ–टिकेट तथा स्मार्ट कार्डबाट भाडा कसरी तिर्ने ?
यो प्रविधिबाट दिगो सार्वजनिक यातायातमा भाडा तिर्दा दुई तरिकाले तिर्न सकिन्छ । पहिलो तरिकामा सहचालकलाई पैसा दिएर वा सहचालकसँग भएको डिभाइसमा कार्ड ट्याप गरेर टिकट लिन सकिन्छ । दोस्रो, बसको ढोकामा राखिएको डिभाइसमा भाडा दर थिचेर कार्ड ट्याप गरेर आफू पुग्ने गन्तव्यसम्मको भाडा तिर्न सकिन्छ । यो स्मार्ट कार्डमा भने टिकट प्रिण्ट हुँदैन । कार्डमा रिचार्ज गर्न र ब्यालेन्स हेर्न सहचालकले प्रयोग गरेको डिभाइस मात्र प्रयोग गर्न सकिन्छ ।