महिन्द्राको ई–अल्फा थ्री ह्वीलर्सको विक्रीवितरण शुरू | एकपटक चार्ज गरेपछि ८५ किलोमिटरसम्म गुड्न सक्ने, माइलेज २५ किलोमिटर प्रतिघण्टा
काठमाडौं । महिन्द्रा टु ह्वीलर्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नि मोटो इन्कले ‘सवारी शानको, भरोसा महिन्द्राको’ भन्ने नाराका साथ विद्युत्बाट चल्ने नयाँ थ्री ह्वीलर्स सवारी नेपालमा भित्र्याएको छ । कम्पनीले शून्य उत्सर्जन गर्ने नयाँ विद्युतीय सवारी ई–अल्फा थ्री ह्वीलर नेपालको तराई क्षेत्रका बुटबल, भैरहवा, लहान तथा विराटनगरमा विक्रीवितरणमा ल्याएको हो ।
उक्त तीनपाङ्ग्रे सवारी एकपटक चार्ज गरेपछि ८५ किलोमिटरसम्म गुड्न सक्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार २५ किलोमिटर प्रतिघण्टा माइलेज दिन सक्ने क्षमताको उक्त सवारीमा १००० वाटको मोटर तथा कन्ट्रोलर जडान गरिएको छ । साथै, यो सवारीमा ४८ भोल्ट १२० एएचको ब्याट्री प्रयोग गरिएको छ ।
इ–अल्फा मिनीमा भित्री डिजाइन आकर्षक रहेको छ । यो सवारीमा रुवस्ट बडी, फुल क्यानोपी, स्टाइलिस ब्याक ड्यासबोर्ड, चुस्त सस्पेन्सन, सिफ्टिङ क्लच तथा चेसिस र ठूलो बस्ने क्याबिन रहेका कारण यात्रु र चालक दुवैलाई यात्रा गर्न सहज र सुविधायुक्त रहेको कम्पनीको दाबी छ ।
धेरै भारवहन क्षमता, अधिकतम सुविधा रहेको यो सवारीमा अन्य प्रतिस्पर्धी सवारीहरूको तुलनामा यो धेरै आरामदायी र चलाउन पनि बढी नै सहज भएको कम्पनीको भनाइ छ ।
ई–अल्फामा कम्पनीले २ वर्षको वारेण्टी, ब्याट्रीमा ६ महिनाको वारण्टी तथा ६ महिनासम्म निःशुल्क सर्भिसिङको सुविधा उपलब्ध गराएको छ । यो सवारी पूर्ण रूपमा वातावरणमैत्री तथा सुरक्षित सवारी भएकाले पनि नेपालमा यो सवारी लोकप्रिय हुने कम्पनीको विश्वास रहेको छ ।