ग्लोकल टिन हिरोको अन्तिम ६ को नाम सार्वजनिक |
काठमाडौं । वाइवाइ र ग्लोकल प्राइभेट लिमिटेडले सञ्चालन गरेको ‘ग्लोकल टिन हिरो’को अन्तिम ६ जना प्रतिस्पर्धीको नाम सार्वजनिक भएको छ । सहभागी प्रतियोगीमध्ये विकल्प ढुंगाना, दीपशिखा घिमिरे, प्रशंसा केसी, सौगात तिवारी, सुदर्शन सुवेदी र स्वर्णिम श्रेष्ठ ग्लोकल टिन हिरोको अन्तिम ६ मा पुग्न सफल भएका हुन् ।
आयोजकका अनुसार सामाजिक कार्य, बालअधिकारकर्मी, कम्प्युटर प्रोग्रामिङ, विज्ञान, पत्रकारिता, प्रविधि र उद्योगीजस्ता विविध क्षेत्रमा आफ्नो योगदान दिएका १३ देखि १९ वर्षसम्मका युवाबाट उत्कृष्ट ६ को सूची सार्वजिक गरिएको आयोजकको दाबी छ ।
संयुक्त राष्ट्र संघको विकास परियोजना (यूएनडीपी) का नेपालका लागि कण्ट्री निर्देशक रेनाउद मेयर, वैद्यज अर्गनाइजेशनका सुरज वैद्य, सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक उपौल मजुम्दार, प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकारी रञ्जित आचार्य, ज्योति समूहका प्रमुख ब्राण्डिङ अधिकारी सृजना शाक्य जोशी, कोकाकोला नेपालका कण्ट्री म्यानेजर अम्बुज सिंह र ग्लोकल प्राइभेट लिमिटेडकी महाप्रबन्धक एलिना प्रजापति निर्णायक मण्डलमा रहेका छन् ।
छनोट भएका सबै ६ जना युवा सेप्टेम्बर १ मा हुने पुरस्कार वितरण कार्यक्रममा सहभागी हुनुअघि ६ दिने क्षमता निर्माण कार्यशालामा सहभागी हुनुपर्नेछ । सोही दिन अन्तिम प्रतिस्पर्धीलाई निर्णायक मण्डलले छुट्टाछुट्टै अन्तरवार्ता लिनेछन् । यस वर्षको उत्कृष्ट युवा छान्न एसएमएस भोटिङ राउण्डसमेत खोलिने आयोजकले बताएका छन् । पुरस्कार वितरण समारोहमा नेपालका कूटनीतिज्ञ, राजनीतिज्ञ, चलचित्र, उद्यमीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहने आयोजकले बताएका छन् । कार्यक्रम सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ ।
कार्यक्रमलाई वाइ वाइले मुख्य प्रायोजन गरेको छ भने सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, नेपाल टुरिज्म बोर्ड, यूरोपियन युनियन, यूएनडीपी, सोल्टी क्राउन प्लाजा, कोकाकोला नेपाल, पञ्चकन्या समूह, वैद्यज अर्गनाइजेशन, होण्डा नेपाल, टर्किश एयरलाइन्स, यती एयरलगायतले सहयोग गरेका छन् ।