कलङ्कीे ʽअण्डरपास वेʼ परिक्षणका रुपमा सञ्चालन |
काठमाडौं । काठमाडौंको कलंकी चोकमा निर्माण सम्पन्न भएको ʽअण्डरपास वेʼ को परिक्षणका रुपमा आज मध्यान्नबाट सञ्चालन गरिएको छ । चार लेनको अण्डरपासमध्ये आजदेखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ । साउनबाटै सञ्चालनमा ल्याउने भनिए पनि वर्षाका कारण समयमै फिनिसिङ कार्य नसकिएकाले ढिलाइ भएको हो ।
दुई लेनमा निर्माण सामग्री राखिएकाले पञ्छाउन एक महिना लाग्ने बताइएको छ । एक महिनापछि अण्डरपास चार लेनमै चल्ने आयोजनाको भनाई छ ।
उक्त अण्डरपास वे सञ्चालनमा आएपछि कलंकीको जाम कम हुने विश्वास गरिएको छ । ८ सय मिटरको यो अण्डरपास वे कलंकी चोकबाट खसीबजारतर्फ ४ सय र सितापाइलातर्फ चार सय मिटर लम्बाइ रहेको छ । भेलिबाटै सञ्चालनमा ल्याइने भए पनि अण्डरपासको सडक पेन्टिङ र लेन छुट्याउनेलगायतका काम भने बाँकी छ । यो सबै काम पूरा गर्न दुई महिना लाग्ने बताइएको छ ।
चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको थियो ।
अण्डरपास सञ्चालनमा ल्याउँदा सडक विभागले कुनै औपचारिक कार्यक्रम भने गरेन । परीक्षणका रुपमा सडक खोलिएकाले पछि औपचारिक कार्यक्रम गर्ने आयोजना प्रमुख भण्डारीले बताए ।