५६ लाख घरधुरीलाई जलविद्युतको मालिक बनाउँदै छौं ː ऊर्जामन्त्री पुन | प्राधिकरणको गतआवमा खुद नाफा १ अर्ब १ करोड रुपैयाँ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत् आयोजनाको निर्माण गरिने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३३औं वार्षिकोत्सवको अवसरमा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले त्यस्तो बताएका हुन् । उनले प्राधिकरणको अगुवाइमा हरेक नेपालीको लगानी सुनिश्चित हुने गरी निर्माण हुने त्यस्ता आयोजना राजनीतिक प्रभाव र दबाबमा छनोट नगरिने प्रष्ट पारे ।
‘आकर्षक आयोजनाको छनोट गरी ५६ लाख घरधुरीको शेयर लगानी सुनिश्चित हुने गरी राम्रो प्रतिफल दिने आयोजना निर्माण गर्नेछौं, त्यसले अहिले वृद्धभत्ता पाएजस्तै राज्यको अगुवाइमा निर्माण हुने आयोजनामा शेयर लगानी गरी जनताले प्रतिफल पाउँछन्,’ उनले भने । ‘विगतमा भनसुन, राजनीतिक प्रभाव र दवावमा गलत आयोजना छनोट गर्दा प्राधिकरणले बनाउने आयोजनाको लागत दोब्बर÷तेब्बर भएको छ भने निर्धारित समयमा सकिएको पनि छैन, अब त्यस्तो हुने छैन, प्रतिस्पर्धी र आकर्षक आयोजना छनोट गरी निर्माण गरिनेछ ।’
प्राधिकरण र निजीक्षेत्रले आयोजनाको विद्युत्को जडित क्षमता बराबर भइसकेको उल्लेख गर्दै मन्त्री पुनले प्राधिकरणले आफ्नो कार्यशैलीमा परिवर्तन गरी प्रतिस्पर्धी बन्नुपर्नेमा जोड दिए ।
‘एउटा ठेकेदार कम्पनीले ७४ वटा आयोजनाको ठेक्का लिएको जानकारी पाएका छौं, यस्तो अवस्थामा ती आयोजनाको निर्माण कसरी हुन्छ ?,’ उनले भने । ‘लोडसेडिङ अन्त्य भएसँगै प्राधिकरणले प्रवाह गर्ने विद्युत् सेवाको गुणस्तरबारे धेरै गुनासा आइरहेका छन्, लोडसेडिङ अन्त्य गर्न जेजस्ता कदम चालिएका थिए, अब प्रणालीलाई सुधार गरी विद्युत् आपूर्तिलाई भरपर्दो र विश्वसनीय बनाउन सोहीअनुसारको कदम चाल्नुपर्छ ।’
१४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सम्पन्न ठेकेदार कम्पनीलाई दबाब दिन चिनियाँ राजदूतलाई समेत आग्रह गरिएको उल्लेख गर्दै उनले भदौभित्र सम्पन्न भएन भने ढिला हुनुको विकल्पसहितको कारण माग गरे । ‘म अर्थमन्त्री भएको बेला नै प्राधिकरणको २८ अर्ब रुपैयाँको सञ्चित नोक्सानीलाई मिनाहा दिइएको थियो, त्यतिवेला यसलाई खण्डीकरण गर्ने कुरा उठेको थियो तर अहिले संस्थामा सुधार हुँदै गएको छ’, उनले भने । ‘अहिले सहायक कम्पनी स्थापना भएका छन्, तिनीहरू र निजीक्षेत्रका कम्पनी प्रतिस्पर्धी बनिरहेका छन्, यसलाई ध्यान दिएर प्राधिकरण अब चल्नुपर्छ ।’
कार्यक्रममा ऊर्जासचिव एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले उत्पादित विद्युत् खपत बढाउने गरी र सरकारले अगाडि बढाएका नीति कार्यान्वयनमा सहजीकरण गर्ने गरी अगाडि बढ्न निर्देशन दिए ।
कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रतिवेदन पेश गर्दै गतआवमा संस्था १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न र विद्युत चुहावट २०–४५ प्रतिशतमा झार्न सफल भएको बताए । ‘तराईका औद्योगिक कोरिडोर र काठमाडौंलगायतका मुख्य शहरहरुमा आगामी १० वर्षभित्रमा १० हजार मेगावाट विद्युत् आपूर्ति गर्न सक्ने वितरण प्रणाली विस्तार गरिनेछ’, उनले भने । ‘शहरी सुन्दरता अभिवृद्धि गर्न एवम् विद्युत् सेवा भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरमा भूमिगत वितरण प्रणालीलाई विस्तार गरिनेछ ।’
उनले नेपालको एकीकृत विद्युत् प्रणालीमा मागको तुलनामा वर्षातमा अधिक र हिउँदमा कम उत्पादन हुने भएकाले ऊर्जा व्यवस्थापनका लागि भारतसँग ऊर्जा बैंकिङ गर्न आवश्यक कार्यविधि तय गरिने बताए ।
कार्यक्रममा प्राधिकरणका प्रथम कार्यकारी निर्देशक हर्षमान श्रेष्ठ र गतआवमा उत्कृष्ट कार्य गर्ने १५ कर्मचारी तथा नौ कार्यालयलाई सम्मान गरिएको थियो ।