वैदेशिक रोजगारीमा जानेलाई संचय कोषको व्यवस्था गरिने |
काठममाडौं । अब बैदेशिक रोजगारीमा जानेको पनि संचय कोषको ब्यवस्था गरिने भएको छ । श्रम रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको नेपालमा संचय कोषको व्यवस्था गर्ने तयारी अघि बढाएको हो । व्यवस्थापिका संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री गोकर्ण विष्टले स्वदेश र विदेशमा रहने नेपाली श्रमिकको सामाजिक सुरक्षाको व्यवस्था गर्न लागिएको बताएका हुन ।
विदेशमा जाने कामदारहरुको संचय कोष र अन्य सामाजिक सुरक्षा कार्यक्रमको लागि अध्ययन कार्यदल गठन गरिएको विष्टले बताए । नेपालमा रहेका श्रमिकहरुको संचय कोषको व्यवस्था गर्न अहिलेकै सामाजिक सुरक्षा कोषलाई सक्रिय बनाउने मन्त्रालयको तयारी छ ।
अहिले मन्त्रालयले संचय कोष, राष्ट्र बैंक र मन्त्रालयका अधिकारीसहितको कार्यदल बनाइएको र त्यसले दिने सुझावको आधारका कार्यक्रम ल्याइने बिष्टले बताए । सबै श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउने आफ्नो योजना रहेको उनले बताए । विदेशमा काम गर्न जाने कामदारको हकमा भने कानूनी तथा प्राविधिक समस्या रहेकोले अहिले अध्ययन भइरहेको र उक्त अध्ययनपछि आउने सुझावको आधारमा कार्यक्रम आउने उनको भनाइ छ ।