भोलिदेखि सञ्चालनमा आउँदै कलंकीको अण्डरपास वे |
काठमाडौं । काठमाडौंको कलंकी चोकमा निर्माणाधीन अवस्थामा रहेको नेपालकै पहिलो अण्डरपास वे भोलि भदौ १ गते शुक्रवारदेखि सञ्चालनमा आउने भएको छ । साउनबाटै सञ्चालनमा ल्याउने भनिए पनि वर्षाका कारण समयमै फिनिसिङ कार्य नसकिएकाले ढिलाइ भएको हो ।
उक्त अण्डरपास वे सञ्चालनमा आएपछि कलंकीको जाम कम हुने विश्वास गरिएको छ । ८ सय मिटरको यो अण्डरपास वे कलंकी चोकबाट खसीबजारतर्फ ४ सय र सितापाइलातर्फ चार सय मिटर लम्बाइ रहेको छ । भेलिबाटै सञ्चालनमा ल्याइने भए पनि अण्डरपासको सडक पेन्टिङ र लेन छुट्याउनेलगायतका काम भने बाँकी छ । यो सबै काम पूरा गर्न दुई महिना लाग्ने बताइएको छ ।
अण्डरपासमा कसरी गाडी चलाउने ?
बल्खुबाट सितापाइलातिर जानका लागि दुईवटा लेन प्रयोग हुन्छ भने सितापाइलाबाट बल्खुतिर जानका लागि दुईवटा लेन प्रयोग हुनेछ । चक्रपथ परिक्रमा गर्दा अब कलंकी चोकमा रोकिनु पर्दैन । कालिमाटीतिरबाट थानकोट जान र आउन अण्डरपासमाथि निर्माण भएको सडक प्रयोग हुनेछ । चिनियाँ कम्पनी ‘द थर्ड रेलवे एण्ड डिजाइन इन्स्टिच्युट गु्रप कर्पोरेशन’को डिजाइनअनुसार कलंकीमा नेपालकै पहिलो अण्डरपास वे बनेको हो । यसको लम्बाइ ०.८५ किलोमिटर छ ।