उपभोक्तालाई झुक्याएर सामान बिक्री गरे ५ वर्ष कैद, ५० हजार जरिवाना |

काठमाडौँ । अब देखि उपभोक्ता लाई भुक्याएर सामान विक्री गरे कडा कारवाही भोग्नु पर्ने भएको छ । झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय पाउने भएका छन् । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ ले अखाद्य पदार्थ बिक्रीवितरण गर्नेलाई कडा कानुनी व्यवस्था गरेको हो । यस भन्दा अगाडि फितलो कानुन हुदाँ उपभोक्ताहरु मारमा पर्दै आएका थिए । गुणस्तरहीन खाद्य पदार्थ तथा अन्य सामग्री बिक्री गर्नेहरुले सजिलै उन्मुक्ति पाउने गरेपछि पसल सञ्चालनका लागि कडा कानुनी व्यवस्था गरिएको हो ।
दफा १ सय ९ मा खाद्य पदार्थ बाहेक अन्य कम गुणस्तरकोलाई बस्तु तथा सामाग्रीलाई असल भनेर झुक्याएर बिक्री–वितरण कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
त्यस्तै ऐनको दफा १०८ मा झुक्याएर खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने व्यवस्था गरिएको छ । उपदफा १ मा कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा निम्न स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी विक्री वितरण गर्न हुँदैन भनि उल्लेख गरिएको छ । मुलुकी अपराध संहिताको दफा १ सय १० ले सामान लुकाई कृत्रिम अभाव खडा गर्ने कालाबजारियालाई कडा कानुनको व्यवस्था गरेको छ ।
सो दफामा बिक्री गर्ने उपभोग्यवस्तु विक्री नगरी जम्माखोरी गर्न नहुने भनिएको छ । कसैले कुनै उपभोग्य वस्तुको बजारमा कृत्रिम अभाव खडा गरी त्यस्तो वस्तुको मूल्य वृद्धि गर्न वा त्यस्तो वस्तु बढी मूल्यमा बिक्री गर्न वा गराउन वा त्यस्तो वस्तुको विक्रीबाट अनुचित नाफा लिने उद्देश्यले त्यस्तो वस्तु बिक्री वितरण नगरी थुपार्न वा सञ्चित गरी राख्न वा जम्माखोरी गर्न नहुने उपदफा १ मा उल्लेख गरिएको छ । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरिएको छ ।
यस्तै सोही ऐनको दफा १ सय ११ मा पिउने पानी दुषित पार्नेलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।