पशुपतिमा ४ सय बेडको धर्मशाला तयार | ओली र मोदीले उद्घाटन गर्ने
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा ४०० बेडको धर्मशाला बनेर तयार भएको छ । यसको आगामी भदौ १५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
यसमा ८२ वटा कोठा रहेका छन् । जसमा कुल ४०० बेड रहेको बताइएको छ । धर्मशाला उद्घाटन गर्नुअघि नै सञ्चालन मोडालिटी बनाउने पशुपति विकास कोषको योजना छ । धर्मशालामा खानाको पनि व्यवस्था हुने भएकाले तीर्थयात्रीहरुलाई बस्न सहज हुने बताइएको छ । धर्मशाला भारतीय सहयोगमा बनेको हो ।
भारतीय प्रधानमन्त्री मोदी भदौ १४ र १५ मा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका छन् । भारतीय प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले बताए । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले साढे २ तलाको धर्मशाला निर्माण सम्पन्न भइरहेको बताएका छन् ।