मध्यमस्तरीय करदाता कार्यालयको स्थापना | ४० देखि ८० करोडसम्म कर तिर्ने करदतालाई हेर्ने

काठमाडौं । अर्थ मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको छ । यस्तो करदाता सेवा कार्यालयले वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कर भुक्तानी गर्ने करदाता हेर्ने बताइएको छ । उक्त कार्यालयको क्षेत्राधिकार भित्र बैंक तथा वित्तीय संस्था, मेडिकल कलेज, ठेक्का व्यवसाय र ट्राभल तथा ट्रेकिङ क्षेत्रको हकमा भने २५ करोडदेखि ८० करोड रुपैयाँसम्म कर तिर्ने करदाता पनि पर्ने मन्त्रालयको भनाई छ । यस्तो संरचनाअनुसार कार्यालयको क्षेत्राधिकारभित्र करिब ६ सय ५० करदाता पर्ने बताइएको छ ।
वार्षिक ८० करोड रुपैयाँभन्दा धेरै कर तिर्ने करदाता भने ठूला करदाता कार्यालयको क्षेत्राधिकार भित्र पर्नेछन् । यसअघि ४० करोड रुपैयाँभन्दा धेरै कर तिर्ने करदाता ठूला करदाता कार्यालयको क्षेत्राधिकार भित्र पर्दै आएका थिए । मध्यमस्तरीय करदाता कार्यालय खुलेसँगै अब करदाता दुईवटा कार्यालयमा विभाजन हुनेछन् ।