काउन्सिलले लिएको परीक्षामा ७१ प्रतिशत डाक्टर फेल |
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा एमबिबिएस र बिडिएस पढेका ७१ प्रतिशत परिक्षार्थी फेल भएका छन्। डाक्टर बनेर बिरामी जाँच्न गर्न काउन्सिलमा दर्ता हुनुपर्छ । दर्ता प्रमाणपत्र लिनका लागि अनिवार्यरुपमा परीक्षा पास गर्नै पर्ने नियम छ ।
शनिबार भएको परीक्षामा सहभागी खावेदन दिएका ९ सय १२ जना मध्ये ९ सय ३ परीक्षार्थी जाँच दिन आएको बताइएको छ । शनिवारै प्रकाशित नतिजाअनुसार ६ सय ४१ जना फेल भए । अब २ सय ६२ जना मात्र काउन्सिलमा दर्ता हुने भएका हुन ।
परीक्षा हलमा प्रवेश गर्न तीन ठाउँमा चेकजाँच हुन्छ । पहिलो घेरामा प्रवेश पत्र चेक हुन्छ । प्रवेश पत्रमा बारकोड राखिएको हुन्छ, बारकोडले रिड गरेपछि फारम भर्दाकोे फोटो र लाइभ फोटो मिलेपछि मात्र भित्र दोस्रोमा सुरक्षा जाँच पुग्छ । त्यसपछि तेस्रो घेरामा मोबाइल, झोला र अन्य सामाग्रीहरू राखिन्छ ताकि परीक्षार्थीले प्रवेश पत्रबाहेक अन्य सामान लिन पाउँदैनन्। । लेख्ने कलम काउन्सिलले नै दिन्छ । हलमा १५ जना परीक्षार्थी बराबर १ निरीक्षक खटिएका हुन्छन्। । परीवेक्षण गर्न स्वास्थ्य र शिक्षा मन्त्रालय, प्रतिष्ठान, स्वास्थ्य व्यवसायी परिषदलगायतका अधिकारी पनि बोलाइएको हुन्छ ।
हलमा पसेपछि एकमुष्ट नतिजा नआउन्जेलसम्म परीक्षामा खटिएका कर्मचारी र काउन्सिलले खटाएकाहरू बाहिर जान पाउँदैन । एक पटक परीक्षा तयारी गर्न काउन्सिललाई १० दिनजति समय लाग्छ।
परीक्षा केन्द्रमा जामरको प्रयोग
नेपालमा हुने कुनै पनि परीक्षामा जामर प्रयोग भएको पाइँदैन तर काउन्सिलले डाक्टरको परीक्षामा चलखेल नहोस भनेर जामर प्रयोग गर्छ । कसैले कुनै पनि किसिमले चलखेल गर्न नसकोस भनेर मोबाइल पनि नचल्ने जामर प्रयोग गरिएको हुन्छ । परीक्षा प्रक्रियाको सुरूदेखि अन्तिमसम्म परीक्षा समिति र काउन्सिलले आमन्त्रित गरेका विज्ञ र तोकेका कर्मचारीबाहेक कोही पनि प्रवेश गर्न पाउँदैनन्।