टेलिकमको बजार हिस्सा ५१ प्रतिशत | गत वर्षको नाफा १५ अर्ब ६६ करोड
काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमको बजार हिस्सा बढेको छ । यसअघि ४९ प्रतिशत रहेको बजारहिस्सा गत आर्थिक वर्षमा २ प्रतिशत बढेर ५१ प्रतिशत पुगेको हो ।
गत जेठ मसान्तसम्म कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४४५ पुगेको प्रवक्ता प्रतिभा वैद्यले बताइन् । उनका अनुसार इण्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ रहेको छ । यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २२३ र इण्टरनेटतर्फ २२ लाख २६ हजार ५३५ ले वृद्धि भएको उनले जानकारी दिइन् ।
टेलिकमले पाँचथरको चियो भञ्ज्याङदेखि गोर्खा–धादिङको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने भएको छ । चालू आर्थिक वर्ष २०७५⁄७६ मा पोष्टपेडतर्फ ५९ हजार ८३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य लिइएको छ ।
सातै प्रदेशमा फोरजी एटीई सेवा विस्तारको काम अघि बढिसकेको वैद्यले जानकारी दिइन् । यस आर्थिक वर्षमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ । भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुर्याउने तथा डाटा सेवाको घनत्व पनि वृद्धि गर्दै ४५ प्रतिशत पुर्याउने टेलिकमको लक्ष्य रहेको छ ।