साँझको समयमा उद्योगमा चार दिनसम्म लोडसेडिङ हुँदै |
काठमाडौं । उद्योगहरूमा सोमवारदेखि लगभग ४ दिनसम्म साँझको समयमा लोडसेडिङ हुने भएको छ । भारतबाट आउने १ सय मेगावाट बीको प्रसारणलाइन स्तरोन्नति कार्यका कारण अवरूद्ध हुने भएपछि उद्योगमा लोडसेडिङ हुने सम्भावना रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो ।
ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनमा सोमबार विहान ९ बजेदेखि बिहीबार साँझ ६ बजेसम्म क्षमता विस्तारको कार्य हुने भएकाले बिजुली आयात नहुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
उनले भने, ‘प्रसारणलाइनमा प्राविधिक कामहरू गर्नुपर्ने अवस्था आएपछि केही दिन बिजुलीको आयात रोक्न लागिएको हो । हाम्रो सबस्टेशनमा पनि प्रोटेक्सन र कम्युनिकेशनको काम गर्नुपर्छ । भारततर्फ पनि प्रसारणलाइनमा सिफ्टिङको काम गर्नुपर्नेछ ।’ उनका अनुसार बेलुका उद्योगहरूमा २ घण्टा लोडसेडिङ हुन सक्छ ।
ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन हालसम्म १३२ केभीमा सञ्चालनमा रहेकाले यसलाई २२० केभी क्षमतामा स्तरोन्नति गर्न लागिएको हो । यो काम सकिएपछि भारतबाट अहिले आइरहेको भन्दा १५० मेगावाट बढी बिजुली आयात गर्न सकिने प्राधिकरणले बताएको छ । हाल भारतबाट ५ सय मेगावाटसम्म बिजुली आयात भइरहेको छ । प्राधिकरणले आन्तरिक आयोजनाको व्यवस्थापन चुस्त बनाउनका लागि साँझको समय उद्योगमा लोडसेडिङ गर्न लागेको हो । अहिले नदीहरूमा पानीको सहत राम्रो भएकाले ठूलो चुनौती नपर्ने विश्वास प्राधिकरणका अधिकारीहरूलाई छ । वर्षातका कारण उत्पादन बढेकाले व्यवस्थापन गर्न खासै ठूलो समस्या नपर्ने प्रवक्ता अधिकारी बताउँछन् ।
ढल्केबर–मुजफ्फपुर प्रसारणलाइन आगामी वर्षसम्म ४०० मेगावाट क्षमतामा विस्तार हुँदै छ । त्यतिबेलासम्म भारतसँग इनर्जी बैंकिङको सम्झौता भएमा वर्षामा तामाकोशीबाट उत्पादित बिजुली भारत निर्यात गर्न सहज हुनेछ । अहिले स्तरोन्नति गर्न लागिको प्रसारणलाइनलाई ४ सय मेगावाटमा स्तरोन्नति भएपछि १ हजार मेगावाट बिजुली आयात–निर्यात गर्न सकिनेछ ।