दश दिनदेखि बन्द रोल्पा सिमेन्ट उद्योग सञ्चालनमा |
रोल्पा । दश दिनदेखि बन्द रहेको रोल्पा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । उद्योगसँग भएको सम्झौताबमोजिम उद्योगका सामान ढुवानी गर्न पाउनुपर्ने माग राखी टिपर व्यवसायीले आन्दोलन गरेका कारण उद्योग बन्द भएको थियो । उद्योग र स्थानीय टिपर व्यवसायीबीचको असमझदारीका कारण सात दिन उद्योग बन्द भएपछि त्रिवेणी गाउँपालिकाले दुवै पक्षसँग छलफल गरी उद्योग सञ्चालनको वातावरण मिलाएको हो ।
गत असारमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुखलगायतको उपस्थितिमा उद्योग र स्थानीयवासीबीच भएको सम्झौतामा स्थानीय टिपर व्यवसायीलाई काम लगाउने उल्लेख भएको व्यवसायीले बताएका छन् । उक्त सम्झौता तत्काल कार्यान्वयन गर्ने भनिए पनि लामो समयसम्म काम लगाउन उद्योगले तत्परता नदेखाएकाले आन्दोलन गर्न बाध्य भएको टिपर व्यवसायीले बताएका छन् ।
पछिल्लो पटक भएको सम्झौताबमोजिम उद्योगले स्थानीय टिपर व्यवसायीका १० टिपर काममा लगाउने भएको छ । जसका लागि उद्योगदेखि दाङको अमेलिया डिपोसम्म प्रतिटन रू. ८ सय ३५ का दरले भाडासमेत निर्धारण गरिएको छ । व्यवसायीले प्रतिटन रू. ९ सयको माग गरे पनि उद्योगले ८ सयभन्दा दिन नसकिने भनिरहेको बेला त्रिवेणी गाउँपालिकाले दुवै पक्षलाई मान्य हुने गरी प्रतिटन ८ सय ३५ निर्धारण गरेपछि सो दररेट मान्न दुवै पक्ष सहमत भएकाले उद्योग सञ्चालनमा आएको हो । उद्योगले दैनिक २ हजार ५ सय बोरा सिमेण्ट उत्पादन गर्दै आएको छ ।