चालू आवमै देशको आर्थिक समृद्धिको मुहार फेरिन्छ : प्रम ओली |

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय लागे पनि देशको आर्थिक समृद्धिको मुहार फेरिने बताएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रदेश नं ५ का सांसदसँगको छलफलमा वर्तमान सरकार विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताएका हुन् ।
प्रम ओलीले अघिल्लो सरकारको पालामा देश गम्भीर आर्थिक संकटमा पुगे पनि जनताले विश्वास गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सुविधाजनक बहुमत दिएको हुँदा यो सरकारले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउने दृढता व्यक्त गरे ।
छलफलमा सहभागी सांसद नन्दलाल रोकाया क्षत्रीले प्रदेश नं ५ को विकास निर्माण, पछाडि परेका समुदायको उत्थानलगायत क्षेत्रमा सरकारको ध्यान पुगोस् भनी आग्रह गरे । मन्त्रीको काम कारबाहीलाई प्रभावकारी बनाई सबै स्थानमा समान ढङ्गको विकास निर्माण होस् भन्ने पनि उनको सुझाव थियो । छलफलमा सांसद खिमलाल भट्टराई, सोमप्रसाद पाण्डे, नन्दलाल रोकाया, पूर्णकुमारी सुवेदी, हिराचन्द्र केसी, तुलसा थापालगायत सहभागी थिए ।