नेपाल चेम्बर र म्यान्माको व्यापारिक प्रतिनिधिमण्डलबीच छलफल | मंसिरमा हुने चेम्बर एक्स्पोमा म्यान्मा पनि सहभागी हुँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले म्यान्माका व्यवसायीलाई नेपालका कृषि, पर्यटन र जलविद्युत्जस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । उनले बिहीवार नेपाल चेम्बर अफ कमर्श र म्यान्माको व्यापारिक प्रतिनिधिमण्डलबीच दुई–पक्षीय व्यापार प्रवद्र्धन गर्ने विषयमा भएको छलफलमा त्यस्तो आग्रह गरेका हुन् ।
उनले नेपाल र म्यान्माबीचको व्यापारलाई थप प्रवद्र्धन गर्न आवश्यक रहेको बताउँदै भने, ‘म्यान्मा बुद्ध धर्मलाई अनुशरण गर्ने देश हो, त्यसैले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको माध्यमबाट दुई देशलाई जोड्न सकिने आधारहरू छन् ।’ लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न सकिने उनको धारणा यिो ।
सो अवसरमा म्यान्माका व्यापारिक प्रतिनिधिमण्डलका प्रमुख उ को कोले गोर्खा आर्मी, सगरमाथा र लुम्बिनीको माध्यमबाट नेपाल संसारमै परिचित रहेकाले नेपालको बहु–आयामिक संस्कृति र प्राकृतिक वातावरणबाट संसारले लाभ लिन सक्ने बताए ।
चेम्बरले आगामी मङ्सिर १३ गतेदेखि आयोजना गर्ने ‘नेपाल चेम्बर एक्स्पो–१०१८’ मा म्यान्माका प्रतिनिधिले स्वदेशी उत्पादन लिएर सहभागिता जनाउने प्रतिबद्धता पनि उनले गरेका छन् ।
छलफलमा म्यान्माका व्यापारीहरू र चेम्बरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । छलफलले दुई–पक्षीय व्यापारसम्बन्धी सम्भावना र चुनौतीको अध्ययन गरी अगाडि बढ्ने निर्णय गरेको छ ।