‘नेपालका उद्यमी–व्यवसायीसँग मिलेर द्विपक्षीय व्यापार र लगानी गर्न उत्सुक छौं’ |
काठमाडौं (आपास) । म्यान्माका उद्यमी व्यवसायी नेपालका उद्यमी व्यवसायीसँग मिलेर द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्न उत्साहित रहेको म्यान्माको प्रतिनिधिमण्डलका प्रमुख उ को कोले बताएका छन् । उनले नेपाल उद्योग परिसंघले बिहीवार म्यान्माको व्यापारिक प्रतिनिधिमण्डलसँग गरेको अन्तरक्रियामा त्यस्तो भनाइ राखेका हुन् ।
उनले पर्यटन प्रवद्र्धनका लागि द्विपक्षीय सम्बन्ध सुदृढ गर्न व्यवसायीस्तरमा नै सम्बन्ध सुदृढ हुनुपर्ने बताए । अन्तरक्रियामा उनले दुवै देशको व्यापारिक सम्बन्ध सुदृढ गर्न आवश्यक रहेको बताउँदै नेपालको जलस्रोत र सौर्य ऊर्जामा म्यान्माले लगानी गर्न सक्ने बताए । उनले भने, ‘द्विपक्षीय आर्थिक सम्बन्ध अभिवृद्धि गर्न केही समयअगाडि हिमालय एयरलाइन्सले सीधा हवाई उडान गरेको थियो, त्यसलाई निरन्तरता दिन सके दुई देशबीचको पर्यटन एवम् आर्थिक क्रियाकलापमा उल्लेख्य वृद्धि हुने देखिन्छ ।’
भेटका अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले म्यान्माको आर्थिक क्रियाकलापले नेपाललाई फाइदा पुग्ने बताए । उनले सन् १९६० को मार्च १९ मा दौत्य सम्बन्ध स्थापना भए पनि अपेक्षा गरिएअनुसार आर्थिक सम्बन्ध स्थापित हुन सकेन ।’ यस्तो पृष्ठभूमिमा दुवै देशले व्यापार घाटा कम गर्न, औद्योगिक लगानी तथा पर्यटन प्रवद्र्धन गर्न उपयुक्त पहल गर्नुपर्ने उनको भनाइ थियो ।
नेपालले म्यानमारसँग क्रमिक रूपमा व्यापार घाटा व्यहोर्दै आएको बताउँदै शर्माले भने, ‘नेपाल म्यान्माबीच कृषि प्रशोधन, चिकित्सा तथा इञ्जिनीयरिङ र पर्यटनमा द्विपक्षीय सहयोगको प्रवल सम्भावना छ ।’