नयाँ नेपाल लघुवित्तको हकप्रद साउन २७ गतेदेखि |
काठमाडौं (आपास) । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले साउन २७ गते हकप्रद शेयर निष्कासन गर्ने भएको छ । संस्थाले २५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
१ सय रुपैयाँ अंकित मूल्यका ६ लाख कित्ता हकप्रद शेयरका लागि भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको शेयरमा साउन ६ गतेसम्म शेयर स्वामित्व कायम शेयरधनीले मात्र भर्न पाउनेछन् । उक्त हकप्रद शेयरको विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
साथै, एनएमबी बैंकका अधिकांश शाखा कार्यालय, देवः विकास बैंकको धुलिखेल शाखा तथा गुडविल फाइनान्सको हात्तीसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखाबाट पनि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी, सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।