फाइदा हेरेर दोहोरो कुरा नगर्नुस् : गभर्नर, कर्जाको ब्याजदर घटाउन मिल्दैन : नेपाल बैंकर्स संघ |
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले व्यवसायी र बैंकर्स संघलाई आफ्नो अनकूलको फाइदा हेरेर दोहोरो कुरा नगर्न चेतावनी दिएका छन् । बैंकर्स संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हिजो बिहीवार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गर्भनर नेपालले त्यस्तो बताएका हुन् ।
उनले बजारमा तरलता सहज हुँदा आफूले पैसा लैजान आग्रह गरे पनि व्यवसायीले नलगेको र अहिले आएर पैसा पाइएन, ब्याज बढ्यो भनेर गुनासो गरिरहेको बताए । उनले भने, ‘वित्तीय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यक्तिगत ओभर ड्राप्टको प्रतिशत घटाइएको हो । व्यावसायिक ओभर ड्राफ्टमा त्यस्तो गरिएको छैन ।’ उनले ऋणको ब्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन पनि व्यवसायीलाई सुझाए ।
उनले संस्थागत निक्षेपका सम्बन्धमा राष्ट्र बैंकले निर्देशन जारी गरिसकेकाले आपसमा लुछाचुँडी नगर्न वित्तीय क्षेत्रको ध्यानाकर्षण गराए । निर्देशनअनुसार आफुहरूलाई अघि बढाउन सचेत गराउँदै उनले भने– ‘राष्ट्र बैंक कठोर रूपमा आउनुनपरोस् ।’ उनले आफ्नो दक्षता र क्षमताअनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तीय क्षेत्रलाई सचेत गराए ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर्जाको ब्याजदर नेपाल राष्ट्र बैंकले भनेजस्तो गरी २ प्रतिशत घटाउन बैंकसँग पर्याप्त लगानी नभएकाले तत्काल कर्जाको ब्याजदर घटाउन नसकिने बताए । बैंकहरुले लगानीलाई आकर्षित गर्न पनि तत्काल कर्जाको ब्याजदर घटाउन नमिल्ने उनको जिकिर थियो । उनले असोजबाट भने कर्जाको ब्याजदर घटाउन सकिने बताए ।
उनले राष्ट्र बैंककै निर्देशनबमोजिम स्थानीय तहमा शाखा विस्तार गर्दा बैंकको आन्तरिक खर्च बढेकाले कर्जाको ब्याजदर समायोजन गर्न नसकिने प्रष्ट पारे । उनका अनुसार बैंकको आन्तरिक खर्च ८० प्रतिशतसम्म वृद्धि भएको छ ।