गतआवमा ८६ अर्बभन्दा बढीको गाडी आयात | राजस्वमा ठूलो योगदान
काठमाडौं । अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मुख्य आधार बन्दै आएको छ । अटो व्यवसायले देशको कुल राजस्वमा १७ प्रतिशत र कुल कर राजस्वमा २० प्रतिशत योगदान पुर्याएको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष (आव) २०७४⁄७५ मा ८६ अर्ब रुपैयाँभन्दा बढीको गाडी तथा स्पेयर पार्ट्स आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार गतआवमा ८६ अर्ब २९ करोड ७९ लाख ५४ हजारको गाडी र स्पेयर पार्ट्स अयात भएको छ । यो रकम अघिल्लो आवको भन्दा ६ अर्ब ७९ करोड ५७ लाख ४४ हजारले बढी हो । आर्थिक वर्ष २०७३⁄७४ मा ७९ अर्ब ५० करोड २२ लाख १० हजारको गाडी तथा स्पेयर पार्ट्स आयात भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७२⁄७३ मा ६६ अर्ब २० करोड ५० लाख ८० हजारको आयात भएको थियो ।
सडक र यातायातको विकास नभएसम्म देशको बृहत्तर विकास सम्भव छैन । त्यसैले, सडक र यातायातको व्यवस्थित विकासका लागि सरकारी र निजीक्षेत्रको सहकार्य आवश्यक भएको अटो व्यवसायीहरू बताउँछन् ।
व्यवसायका समस्या
बैङ्क तथा वित्तीय संस्थाले सवारीसाधन खरीद गर्दा कर्जा लगानीमा कडाइ गर्नु अटो व्यवसायको मुख्य समस्या बनेको छ । तरलता अभाव, कर्जामा कडाइ, हरेक वर्ष करको दायरा वृद्धिलगायत कारणले अटो बजारले अपेक्षित गति लिन नसकेको व्यवसायी बताउँछन् । अब बैङ्क तथा वित्तीय संस्था र विभिन्न विक्रेता कम्पनीले सवारीसाधनका लागि ल्याउने दशंै अफरले पनि व्यवसाय बढ्ने व्यवसायीहरुको अपेक्षा छ ।
नेपालमा अहिलेसम्म सवारीसाधनको परीक्षण गर्न ‘इन्फेक्शन सेण्टर’ स्थापना हुन सकेको छैन । अहिले ‘प्mयुल क्वालिटी टेष्टिङ’का लागि नेपाल आयल निगमसँग मात्र प्रयोगशाला छ । नेपाल ब्यूरो स्ट्याण्डर्ड मेट्रोलोजीजस्तो राष्ट्रियस्तरको प्रयोगशालामा साधारण उपकरणसमेत नहुँदा समस्या आएको व्यवसायीहरू बताउँछन् । सवारीसाधनलाई दीर्घकालसम्म सञ्चालन गर्न स्पेयर पाटर््स र वर्कशपको विशेष भूमिका रहन्छ । तर, सरकारले यस्ता सामानको व्यवस्थित बजारका लागि खासै चासो नदेखाएको व्यवसायीको आरोप छ । अहिले स्पेयर पार्ट्स आयातमा लाग्ने भन्सार महशुलको विभिन्न दर (५ देखि ३० प्रतिशतसम्म) रहेकाले त्यसलाई एउटै दरमा कायम गरिनुपर्ने श्रेष्ठले बताए । यसले चोरीपैठारी तथा एउटा वस्तु भनेर अर्को ल्याउने विकृति हट्ने उनको भनाइ छ ।
व्यावसायिक आशा
विकासको संवाहक मानिएको अटोमोबाइलको बजार हरेक वर्ष उकालो लाग्ने क्रम जारी छ । नेपालमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीको बजार निकै फराकिलो भएको छ । भारतमा र तेस्रो मुलुकमा उत्पादन हुने आधुनिक गाडी अहिले नेपाली बजारमा सजिलै उपलब्ध हुन्छन् । हुण्डाई, टाटा, सुजुकी, मारुती, टोयटा, होण्डा, टीभीएस, यामाहा, हिरो, बजाजलगायत विश्वका चर्चित ब्राण्डले यहाँको बजार र उपभोक्ताको माग पूरा गरेका छन् । बजारमा गाडीका नयाँनयाँ मोडल भित्रिएअनुसार ग्राहक तथा उपभोक्ताको माग र रोजाइ पनि फेरिँदै गएको छ । नयाँ मोडलका कार तथा मोटरसाइकल किन्नेको सङ्ख्या दिनहुँ बढ्दै गएको यस क्षेत्रका व्यवसायी बताउँछन् ।