नेपाली नोटमा केरमेट गरे कारबाही | तीन महिनासम्म कैद सजाय
काठमाडौं । अब नेपाली नोटमा केरमेट गरे कारबाही हुने भएको छ । नोटमा केरमेट गरे तीन महिनासम्म जेलमा बस्नु पर्ने हुनसक्छ । नेपाल राष्ट्र बैंकले बुधबार सुचना जारी गर्दै नेपाली नोटमा लेख्ने वा कोर्नेलाई अब ३ महिनासम्म जेल हालिने र ५ हजार रुपैयाँसम्म जरिवाना हुने जानकारी दिएको छ ।
राष्ट्र बैंकले पहिला पनि बैंक नोटमा केरमेट नगर्न सूचना जारी गर्दे आएपनि पछिल्लो समय नेपाली नोटमा अनावश्यक रुपमा धेरै केरमेट हुन थालेपछि राष्ट्र बैंकले बुधबार सूचना जारी गरेको हो । बैंक नोटमा जथाभावी केरमेट गर्ने तथा सिक्कालाई पनि काम नलाग्ने बनाएको फेला परेमा यस्तो कारवाही हुने बताइएको छ । यस्तो कानूनी सजाय हुने व्यवस्था पहिला भएपनि प्रभावकारी कार्यान्वयन हुन भने सकिरहेको थिएन ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद २२ अनुसार मुद्रा सम्बन्धी कसूर अन्तर्गतको दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने उल्लेख छ । यहि परिच्छेदमा नोट वा सिक्का जलाउने, केरमेट गर्ने वा नष्ट गर्न खोज्नेलाई कसुर मानि त्यस्ता व्यक्तिलाई ३ महिनासम्म जेल सजाय हुने उल्लेख छ । राष्ट्र बैंकले यसअघि सफा नोटनीति ल्याएर बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै बैंक नोटमा स्टिच लगाउन रोक लगाएको थियो ।