पुनःरोजगारीमा जान चाहनेका लागि कोरियन भाषा परीक्षा भदौमा |

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जानकारी दिएको छ । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो । साथै सन २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक, कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने शाखाले बताएको छ ।
मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ । गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा सात हजार ९९६ जना उतीर्ण भएका थिए ।