भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला’ आयोजना हुँदै, आयोजक महिला सिर्जनशील केन्द्र |
काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला’ सञ्चालन हुने भएको छ । महिला सिर्जनशिलता र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त महोत्सव गर्न लागिएको आयोजकले बताएका छन् ।
चार दिनसम्म चल्ने उक्त मेलाका लागि जापानको प्रसिद्ध ब्राण्ड मिनिसोले प्रस्तुत गरेको छ भने डाबर नेपालको गुलाबरी रोज वाटरको मुख्य प्रायोजन र महिलाहरूले प्रयोग गर्ने सेफ्टीको सहकार्य रहेको आयोजक संस्थाकी अध्यक्ष नीरू थापाले बताइन् ।
सन् २००२ देखि शुरू भएको यो मेला १७औं हो । २ सयभन्दा बढी स्टल रहने उक्त तीज महोत्सवको १ लाखभन्दा बढी आगन्तुकले अवलोकन गर्ने आयोजक संस्थाको दाबी छ । महोत्सवमा महिला सिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यस पटक पाँच जना महिला व्यवसायीलाई अवार्ड प्रादन गरिने जानकारी आयोजकले दिएका छन् । महोत्सवका अवसरमा निःशुल्क फोटो सुट, निःशुल्क मेहन्दी आर्ट र निःशुल्क हेयर कटिङलगायतका खाली हात नजाने उपहारहरू पनि राखिएको आयोजकले जानकारी दिएका छन् ।
समाज कल्याण, महिला तथा बालबालिकामन्त्री थममाया थापाले उद्घाटन गर्ने सो महोत्सवमा १० वटाभन्दा बढी स्टल असहाय, अबक्त, अपाङ्ग र ग्रामीण क्षेत्रमा रहेका पिछडिएका दिदीबहिनीहरूलाई निःशुल्क प्रदान गरिएको छ । यसका साथै टिकटबाट संकलन भएको रकमको ५० प्रतिशत रकम सामाजिक संस्थालाई प्रदान गरिने आयोजकले जानकारी दिएका छन् । महोत्सव अवलोकनका लागि ५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।