प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्ति एक सातालाई टर्यो |
काठमाडौं । प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्ति एक साताका लागि पर सरेको छ । उक्त दुवै पदका लागि सिफारिश गर्न संवैधानिक परिषद्को बैठक आगामी साता मात्रै बस्ने भएपछि नियुक्ति एक साता ढिलाइ हुने भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि विदेश जाने भएपछि परिषद् बैठकको मिति सरेको हो । बैठक बुधवारका लागि तय भएको थियो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले परिषद् बैठक अर्को साता मात्रै बस्ने जानकारी दिँदै भने, ‘प्रतिपक्ष दलका नेता उपचारका लागि सात दिन विदेश जाने कुरा प्रधानमन्त्रीलाई जानकारी गराएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको हो ।’
अब नेता देउवा स्वदेश फर्केपछि मात्रै परिषद् बैठक बस्नेछ । मन्त्री ढकालले भने, ‘केही संवैधानिक निकायका प्रमुख नभए पनि कायममुकायमले काम गरिरहनुभएको छ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पत्र पठाइसक्नुभएको छ, प्रतिपक्ष दलको नेता स्वास्थ्योपचारका लागि विदेश जाने हुनाले सात दिन प्रतीक्षा गर्नुपर्ने भएको छ ।’