भारतीय मोबाइल टम्बो छिर्यो नेपाल, मूल्य १ हजारदेखि |

काठमाडौं । भारतीय मोबाइल ब्राण्ड टम्बोको नेपालका लागि आधिकारिक विक्रेता शंकराचार्य मोबाइल प्रालिले टम्बो ब्राण्डका मोबाइल फोन नेपाली बजारमा ल्याउने भएको छ । उक्त टम्बो मोबाइल सन् २०१८ को अप्रिलदेखि सार्वजनिक भएको हो ।
टम्बो ब्राण्डका मोबाइल फोनको आधिकारिक रूपमा आयात तथा विक्री गर्ने उक्त कम्पनीले पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फिचर फोनहरु बजारमा ल्याउने बताएको छ ।
कम्पनीले हाल ६ मोडलका बार फोन र २ मोडलका स्मार्टफोनहरु ल्याउनेछ । कम्पनीले स्मार्टफोनमा टिए२ र टिए३ गरी दुई मोडका फोन सार्वजनिक गर्ने तयारी गरेको छ । यी फोनहरू सस्तो मूल्यमा आउने कम्पनीले बताएको छ । टम्बो ब्राण्डका फिचर फोनहरू १ हजार रुपैयाँदेखि माथिबाट बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
टम्बो ब्राण्डका मोबाइलको सबै मोडलका फोनहरुमा २ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३ सय ६५ दिनसम्मको स्क्रीन रिप्लेसमेन्ट वारेन्टी रहेको कम्पनीले बताएको छ ।
टम्बो मोबाइलका सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिङ्गरप्रिन्ट सेन्सरलगायतका फिचरहरु राखिएका छन् । यी फोनमा फोरजी भीओएलटीई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फिचर पनि राखिएका छन् ।