संघीयता र पूर्वाधारमा सहयोग गर्न अर्थमन्त्रीको विश्व बैंकसँग आग्रह |

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयताको व्यवस्थापन र विकासमा आन्तरिक साधन र स्रोत मात्रै पर्याप्त नहुने भन्दै सहयोगका लागि विश्व बैंकसँग आग्रह गरेका छन्।
विश्व बैंकको उच्चस्तरीय बैठकमा भाग लिन अमेरिका गएका खतिवडाले सम्बोधन गर्दै नेपालको स्थानीय तहको क्षमता, विकासको मार्गचित्र र प्राथमिकताका बारेमा जानकारी गराएका थिए । साथै उनले हाल भइ रहेको सुधारको निरन्तरता, राजस्वको दिगोपना, समग्र व्यावसायिक वातावरणका विषयमा पनि जानकारी गराएका छन्। ।
विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हार्टविग सेफरसँगको भेटमा उनले नेपालको पूर्वाधारमा ठूलो लगानीको अवश्यकता रहेको उल्लेख गरे । सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताउँदै उनले थप स्रोतका लागि दातृ निकायको सहयोग आवश्यक रहेको उल्लेख गरे । विश्व बैंकका नेपाल समेत हेर्ने कार्यकारी निर्देशक डा। आन्दिन हादियान्तोले मंगलबारको बैंक बोर्ड बैठकमा छलफल हुने प्रस्तावित नेपालको विकासमा साझेदारी खाका बारे जानकारी गराउँदै, विश्व बैंकको बोर्डबाट हालसम्म भएका नीतिगत निर्णयहरु बारे जानकारी गराएका थिए ।
अर्थमन्त्री खतिवडासँग विश्व बैंकका ऊर्जा र वित्तीय कोषका निर्देशक लगायतका पदाधिकारीले पनि भेट गरी नेपालको ऊर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रसँगको सहकार्यमा विविध आयामहरूमा गर्न सकिने लगानीका बारेमा छलफल गरेका थिए ।
छलफलमा खतिवडाले नेपालको तत्काल चालू आयोजनाहरूका अतिरिक्त ठूला आयोजनाहरूको निर्माणमा विश्व बैंकले परीयोजना विकासमा समेत सहयोग गर्न अनुरोध गरे । उनले ऊर्जा क्षेत्रमा कानुनी, संरचनागत लगायतका सुधारमा निरन्तरता रहने र लगानीमैत्री वातावरण सिर्जना गर्नमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। ।