विश्वभरिका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक सस्थाको सम्मेलन नेपालमा हुने | दुई सयभन्दा बढी शैक्षिक प्रतिष्ठानको सहभागिता रहने

काठमाडौं । इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल (इयूहोफा) को ५९ औ अन्तरराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । यो विश्वभरिका होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटल म्यानेजमेन्ट सम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तरराष्ट्रिय संगठन हो । होटल व्यवस्थापन एवं पर्यटनसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूको अन्तरराष्ट्रिय सम्मेलन पहिलो पटक एसियामा हुन लागेको हो । यो सम्मेलन आयोजना गर्ने अवसर नेपालले पाएको छ ।
सन २०१९ को २६ देखि ३० नोभेम्बरमा इयूहोफाको ५९ औं कंग्रेस नेपालमा आयोजना हुन लागेको हो । सन २०१८ को ५८ औं कंग्रेस विश्वकै पहिलो होटल स्कूल स्विजरल्यान्डको लुजानस्थित इएचएल स्थापनाको १२५ औं वर्ष पूरा भएको अवसरमा स्विजरल्यान्डमा आयोजना गर्ने तयारी छ । त्यस्तै सन २०१९को कंग्रेस नेपालमा आयोजना गर्ने निर्णय भएको छ ।
यो सम्मेलनमा विश्वभरिका होटल व्यवस्थापन एवं पर्यटनसम्बन्धी शैक्षिक प्रतिष्ठानका २ सय भन्दा बढी डिन तथा उच्च तहका सञ्चालक÷व्यवस्थापकहरू सहभागी हुने इयूहोफाका बोर्ड सदस्य खेम लकाईंले जानकारी दिए ।
नेपाल भ्रमणमा रहनु भएकी इयूहोफाका अध्यक्ष डा. मारिया विसिङ्गरले सम्मेलनको पूर्वतयारी बारे नेपालका सदस्य होटल स्कुलहरू ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज), इन्टरनेशनल स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (आईएसटी), एकेडेमी अफ कल्नरी आर्टस एन्ड हस्पिटालिटी म्यानेजमेन्ट, नेपाल एकेडेमी एन्ड होटल म्यानेजमेन्ट, सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट तथा गोल्डेन गेट कलेजका प्रमुखहरूसँग छलफल गरेकी छन ।
सरकारले सन २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउन लागेको सन्दर्भमा नेपालमा विश्वभरिकै अग्रणी होटल व्यवस्थापन शिक्षा प्रदायकहरू जम्मा हुनु राम्रो अवसर भएको बैठकका सहभागीहरूको भनाइ थियो । हाल नेपालमा ४० भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूले होटल व्यवस्थापन एवं पर्यटन शिक्षासम्बन्धी उच्चस्तरको शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । सम्मेलनका समयसम्म अन्य होटल व्यवस्थापन एवं पर्यटन शैक्षिक प्रतिष्ठानहरू इयूहोफाको सदस्य बन्ने अपेक्षा गरिएको छ ।
इयूहोफाका बोर्ड सदस्य एवं गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले भने, “विश्वका दुई सय होटल व्यवस्थापन स्कुलका सञ्चालकहरूको सहभागितामा नेपालमा यस्तो अन्तरराष्ट्रिय सम्मेलन गर्न पाउनु हाम्रो लागि ठूलो अवसर हो ।” सम्मेलनमा नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल (हान), पाटासहित नेपालका पर्यटनसँग सम्बन्धित संस्थाहरूको समेत सहभागिताका लागि पहल भइरहेको उनले बताए । इयूहोफाको ५६ वर्षअघि युरोपमा स्थापना भएको हो ।