पाटा युथ ट्यालेन्ट क्वेस्टको दोस्रो संस्करण सम्पन्न | आईएसटीकी तमन्ना र मिड भ्यालीका छात्र जिङ्मे विजेता घोषित
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आयोजना गरेको ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ । सहभागीहरूमध्ये आईएसटी कलेजकी छात्रा तमन्ना प्रधान र मिडभ्याली इण्टरनेशनलका छात्र जिङ्मे लामा क्रमशः ‘पब्लिक स्पिकिङ र ‘कन्टेन्ट राइटिङ’ विजेता घोषित भएका छन् ।
विजेताले पुरस्कारस्वरुप आगामी सेप्टेम्बर १२–१४ सम्म लङ्ककावी मलेसियामा आयोजना हुने पाटा ट्राभल मार्ट २०१८ मा सहभागी हुने अवसर प्राप्त गरेका छन । यस अभियानअन्तर्गत सञ्चालित दुईवटै विधामा पाटा नेपाल सदस्य शैक्षिक संस्थाहरु गेट, नाथम, क्याथ, एनसीटीटीएम, मिडभ्याली, पब्लिक युथ, सिल्भर माउण्टेन र आईएसटी गरी १६ जना विद्यार्थीहरुले भाग लिएका थिए ।
पाटा नेपालले प्रतिभावान् विद्यार्थीहरुलाई आवश्यक तालीम तथा विविध अवसरहरू प्रदान गराई उनीहरुको सशक्तीकरण तथा सुनौलो भबिष्य निर्माणका लागि प्रेरक माध्यमको रुपमा यस कार्यक्रमलाई अघि सारेको छ ।
गत आइतवार राजधानीको नाथम कलेजमा आयोजित उक्त प्रतियोगितामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्व–सचिव दीपेन्द्र पुरुष ढकाल, पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्य र भोग एड् एण्ड इभेण्ट म्यानेजमेण्टका प्रमुख कार्यकारी अधिकृत प्रभात रिमालले निर्णायक मण्डलको भुमिका निर्वाह गरेका थिए । त्यसैगरी, कण्टेण्ट राइटिङ प्रतियोगितामा निर्णायकको भुमिका नेपाल ट्राभलरका संस्थापक तथा सिईओ श्री टेरेन्स ली ले निर्वाह गर्नुभएको थियो ।
यस बर्ष पाटाले नेपाली पर्यटन क्षेत्रको समसामयिक चुनौतीपूर्ण बिषयहरु ‘वर्तमान परिप्रेक्ष्यमा नेपाली पर्यटन प्रवद्र्धनका लागि एसडब्ल्यूओटी विश्लेषण’ तथा ‘प्रतिभा पलायन न्यूनीकरण तथा दिगो दक्षजनशक्ति निर्माणका उपायहरु’ शीर्षकमा प्रतियोगिता आयोजना गरेको थियो ।
पाटा नेपालले दिगो पर्यटन विकास, वर्तमान तथा भविष्यका लागि आवश्यक दक्ष जनशक्ति निर्माण एवम् सशक्तिकरण अभियानलाई सार्थक पार्न निरन्तर रूपमा युथ जनशक्ति तथा विधार्थीहरुलाई आपनो अधिकांश कार्यक्रममा प्राथमिकताका साथ सहभागी गराउँदै आएको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले जानकारी दिए ।