अबदेखि नेपाली कामदारका आफन्त भेटघाटका लागि कोरिया जान पाउने |
काठमाडौं । दक्षिण कोरियामा रोजगारीमा जाने नेपालीका आफन्तहरुले अब भेटघाटका लागि कोरिया जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत पार्कले उक्त कुराको खुलासा गरेका हुन् । उनका अनुसार कोरियाले केही समयभित्रै यसको औपचारिक घोषणा गर्दै छ ।
राजदूत पार्कले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारका आफन्तलाई भेटघाट गर्न कोरिया जाने पाउने व्यवस्था मिलाइसकिएको र केही कामदारका आफन्त त भेटघाट गरेर नेपाल फर्किसकेको समेत जानकारी दिए ।
राजदूत पार्कले नेपाली कामदार इमानदार र मेहनतीसमेत भएकाले संख्या थप गर्ने र अबदेखि सेवा क्षेत्रमा पनि नेपाली कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।
सो अवसरमा मन्त्री विष्टले कामदारको संख्या वृद्धि गर्न कोरिया सरकारसँग पहल गर्न आग्रह गरे । उनले संघीय सरकारको मातहत रहने गरी स्थापना हुन लागेका तीन प्रतिष्ठानस्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारको सहयोगको अपेक्षा गरे ।
नेपाल सरकारले दक्षिण कोरियामा रहेर काम गर्दै आएका नेपालीमा देखा परेको निराशा र आत्महत्याको प्रयासजस्ता समस्याको न्यूनीकरण गर्न भेटघाटको अवसर प्रदान गर्न आग्रह गर्दै आएको थियो । इपिएसमार्फत कोरिया गएका नेपाली कामदार चार वर्ष १० महीना नपुगी स्वदेश आउन पाउँदैनन् । कोरियामा काम गर्ने नेपालीले हाल मासिक रु. १ लाख ५० भन्दा बढी पारिश्रमिक पाउँदै आएका छन् ।