इन्डोनेसिया ६.९ म्याग्नीच्युडको भूकम्प | ९८ को मृत्यु, २० हजार घरबारविहीन
काठमाडौं । इन्डोनेसियामा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ जना पुगेको छ । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, २० हजार घरबारविहीन भएका छन ।
इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतवार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको हो । अमेरिकी जियोलोजिकल सर्भेले भने ७.० म्याग्नीच्यूडको भूकम्प गएको बताएको थियो । भूकम्प जमिनको सतहबाट करिब १०.५ किलोमिटर मुनि रहेको थियो । त्रसित मानिस रातारात अग्ला सुरक्षित स्थानहरुमा पुगेका थिए । बाली र लोम्बोकको विमानस्थल पूर्ववत रुपमै आइतबार रातिदेखि सञ्चालनमा रहेका छन ।
भूकम्पबाट प्रभावितहरूलाई राहत तथा उद्धारका कामहरु पनि भइरहेको छ । यही क्षेत्रमा गत साता आएको ६।४ म्याग्नीच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए । प्रशान्त क्षेत्रीय बेसिनमा अवस्थित इन्डोनेसिया ज्वालामुखी र फल्ट लाइनका कारण भूकम्पको उच्च जोखिममा रहेको छ ।
२००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९.१ म्याग्नीच्यूडको भूकम्पले शक्तिशाली सुनामी आएको थियो जसका कारण एक दर्जन तटीय मुलुकका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।
एजेन्सी