एनआईसी एशिया क्यापिटलको सन्ध्याकालीन काउण्टर शुरू |
काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत आइतवारदेखि सन्ध्याकालीन काउण्टर सञ्चालनमा लयाएको छ । कम्पनीले सेवाग्राहीहरूको व्यस्ततालाई ध्यानमा राखी सन्ध्याकालीन सेवा शुरू गरेको बताएको हो ।
सन्ध्याकालीन सेवामा क्यापिटलबाट दैनिक प्रदान गरिने सम्पूर्ण सेवाहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । सध्याकालीन काउण्टरमार्फत हितग्राही खाता खोल्ने आवेदन फारम संकलन, शेयर प्रमाणपत्र तथा लाभांश विवरण, शेयर अभौतिकरण गर्ने, लगानी व्यवस्थापन तथा परामर्श सेवालगायतका सेवाहरु उपलब्ध गराइने क्यापिटलले बताएको छ ।
कम्पनीका अनुसार उक्त सेवा क्यापिटलको कार्यालय बबरमहलबाट सातामा ५ दिन (आइतबारदेखि बिहीबारसम्म) नियमित र त्यसका अतिरिक्त २ घण्टाका दरले तथा शुक्रबार अतिरिक्त ३ घन्टाका दरले सार्वजनिक बिदाबाहेकका सबै दिन सञ्चालन हुनेछ ।
यो सेवा शुरुभएसँगै अब सेवाग्राहीहरूले सन्ध्याकालीन काउण्टरमार्फत दैनिक कार्यालय समयभन्दा अतिरिक्त समय पनि सेवा प्राप्त गर्न सक्नेछन् । सध्याकालीन काउण्टर सेवा थपिएपछि क्यापिटलले आइतवारदेखि बिहीवारसम्म दिउँसो ४ः०० देखि बेलुका ६ः०० बजेसम्म र शुक्रबार दिउँसो २ः०० देखि बेलुका ५ः०० बजे थप सेवा पाउनेछन् । क्यापिटलले यसअघि आइतवारदेखि बिहीवारसम्म बिहान १०ः०० देखि दिउँसो ०३ः०० बजेसम्म र शुक्रवार बिहान १०ः०० देखि दिउँसो ०१ः०० बजेसम्म सेवा दिँदै आइरहेको थियो ।