कोरिया जाने कामदारको मेडिकल भदौ ४ गतेदेखि | ८ हजारको मेडिकल हुँदै, सीबीटी परीक्षाका लागि झण्डै साढे ३ हजारको आवेदन
आर्थिक पाटी संवाददाता
काठमाडौं । प्रशिक्षार्थी कामदारका रूपमा कोरिया जानका लागि सन् २०१९ का लागि ईपीएस (कोरियन भाषा परीक्षा) उत्तीर्ण गरेकाहरूको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट हुने भएको छ । उनीहरुको स्वास्थ्य परीक्षण राजधानीका चारवटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । शाखाका अनुसार यो वर्ष पास भएका ७ हजार ९ सय ९६ जनाको स्वास्थ्य परीक्षण शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल, नेपाल–कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा हुनेछ ।
स्वास्थ्य परीक्षणमा पास भई प्रहरी रिपोर्ट आएकाहरूले भदौ ८ गतेदेखि ८ दिनसम्म रोजगार आवेदन फारम भर्न पाउनेछन् । आवेदन फारम भरेकाहरूको नाम कोरियाले प्रमाणित गरेपछि मात्र कोरियन रोजगारदाताले उनीहरूको छनोट गर्न सक्छन् । आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरू जान पाउने शाखाले जानकारी दिएको छ । गत वर्ष पास भएका १२ हजारमध्ये हालसम्म ५ हजार ५ सय जना कोरिया उडेका छन् ।
सीबीटी परीक्षामा ३ सय ३० जनाको आवेदन
विभागले हालै ईपीएसको सीबीटी परीक्षाका लागि आवेदन लिएको छ । कोरियामा रोजगारी गरेर फर्किएकाहरुले यो परीक्षा दिन पाउँछन्, यो परीक्षामा सहभागी हुन ३ हजार ३ सय ४ जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । उनीहरुको परीक्षा भदौको दोस्रो हप्ताबाट सञ्चालन गर्न शाखाले प्रस्ताव गरेको छ । सीबीटी परीक्षा पास गरेकाले पुनः कोरिया गई काम गर्न पाउँछन् ।