नेपाल बैंकको एफपिओ आज बाँडफाँड, माग गरे जति पाउने |
नेपाल बैंकको थप सार्वजनिक निष्काशन –एफपिओ) आज आइतबार बाँडफाँड हुने भएको छ । एफपिओ बिक्री प्रबन्धक सिदार्थ क्यापिटलले दिउँसो एक बजे बाँडफाँड गरिने जानकारी दिएको छ । बैंकको एफपिओमा सर्वसाधारण,सञ्चालक र कर्मचारी गरि कूल २३ हजार ६२४ आवेदनबाट ९३ लाख ७५ हजार ७५० कित्ता बराबरको २ अर्ब ६२ करोड ५२ लाख २१ हजार रुपैयाँको एफपिओ मात्र बिक्री भएको छ । बैंकको एफपिओमा कूल निष्काशनको ५३ प्रतिशत मात्र आवेदन परेको छ । प्रमाणिकरण भएका आवेदकले आवेदन गरेको कित्ता अनुसार नै सेयर पाउने भएका छन । अवितरित ४७ प्रतिशत एफपिओ भने प्रत्याभूतिकर्ता ८ मर्चेन्ट बैंकले सर्काने भएका छन । २ अर्ब ३२ करोड ६५ लाख ५० हजार २४० रुपैयाँ बराबरको ८३ लाख ९ हजार १०८ कित्ता सेयर एफपिओमा प्रत्याभूति गरेका ८ मर्चेन्ट बैंकले किन्ने भएका छन् ।
बैंकले असार १५ देखि साउन १३ गतेसम्म कूल एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ बिक्रीमा ल्याएको थियो । एफपिओ निष्काशनसँगै बैंकमा सरकारको हाल रहेको ६२ प्रतिशत सेयर स्वामित्व घटेर ५१ प्रतिशत कायम हुनेछ । उता ३८ प्रतिशत रहेको सर्वसाधारणको स्वामित्व बढेर ४९ प्रतिशत पुग्नेछ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपिओबाट बैंकलाई तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलतन गर्नेछ भने एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी बढ्नेछ ।