विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री वासिङटन प्रस्थान |

काठमाडौँ । नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गरेका छन्। नेपालको सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षे विकासमा साझेदारी गर्ने खाकालाई अन्तिम रूप दिने छलफलमा भाग लिन मन्त्री खतिवडालाई विश्व बैंकले आमन्त्रण गरेको हो ।
मुलुकको समग्र विकासको लागि वित्तको अधिकतम उपयोग गर्न नेपाल सरकारको मार्गचित्र प्रस्तुत गर्नका साथै नेपाललाई सहयोग गर्ने अन्य द्विपक्षीय र बहुपक्षीय विकास साझेदारहरूसँग छलफल गर्ने अर्थमन्त्री युवराज खतिवडाले बताए । अर्थमन्त्रीले विश्व बैंकका उच्च व्यवस्थापन समूह, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग, अन्तर्राष्ट्रिय मुद्राकोषका पदाधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने जानकारी पनि दिए । नेपालको विकासका साझेदारसँग उनीहरुबाट प्राप्त सहयोगको समीक्षा गरी थप सहयोगका क्षेत्रहरूमा छलफल तथा निजी क्षेत्रका लगानीकर्तासँग नेपाल सरकारको आर्थिक नीति तथा लगानीका सम्भावनाका बारेमा पनि विचारविमर्श गर्ने उनको भनाई छ ।
वर्तमान सरकारले जनतासमक्ष प्रस्तुत गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक पर्ने आर्थिक तथा भौतिक पूर्वाधारहरूको विकासका लागि थप लगानी जुटाउन यो भ्रमण उपयोगी हुने अपेक्षा छ, उनले भने ।