एप्पल १० खर्ब डलरको संसारकै पहिलो कम्पनी |
प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ। बैंक अफ अमेरिका, डिज्ने, टोयोटोलगायत धेरै ठूल्ठूला कम्पनी गाभ्दा पनि यो मूल्य बराबर हुँदैन।
यसअघि सन् २००७ मा चीन, सांघाइको ऊर्जा कम्पनी पेट्रो चाइनालाई विश्वकै पहिलो १० खर्ब डलरको कम्पनी मानिएको थियो। तर उक्त कम्पनीले आफ्नो २ प्रतिशत सेयर सार्वजनिक बिक्री गरेकाले यो मूल्य विश्वसनीय मानिँदैन। छोटो समयमै यसको बजार भाउ घटेको थियो। त्यस्तै, साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी अराम्कोको मूल्य २० खर्ब डलर हुनसक्ने अनुमान छ। हालसम्म यसले सार्वजनिक सेयर जारी गरिसकेको छैन।
सार्वजनिक सेयर खरिद–बिक्रीबाट १० खर्ब डलर मूल्य छुने एप्पल नै पहिलो भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। स्टिभ जब्सले कम्प्युटर बनाउन आफ्ना इञ्जिनियर साथी स्टिभ वुजनेकसँग मिलेर सन् १९७६ मा यो कम्पनी स्थापना गरेका थिए। केही वर्षपछि जब्स आफैं निकालिए। त्यसपछि कम्पनी टाट उल्टिने संघारमा पुगेको थियो। त्यो बेला यसको प्रतिसेयर मूल्य एक डलरमा झरेको थियो। अहिले २०७ डलर नाघेको छ। यो कम्पनीले यति ठूलो आकार लिनुलाई अभूतपूर्व छलाङका रुपमा लिइएको छ।
सन् १९९६ मा जब्सको फिर्तीपछि एप्पल नाफामा जान थालेको हो। त्यो वर्ष यसको बजार मूल्य ३ अर्ब डलर थियो। जब्सले कम्पनी विस्तार गर्दै ल्यापटप र कम्प्युटरसहित मोबाइल, आइप्याड, आइपड, टिभी, घडी लगायत उत्पादन गर्न थाले जुन अहिले पनि जारी छ। गत वर्ष मात्र एप्पलले २८ करोड वटा आइफोन, आइप्याड र म्याक बिक्री गर्यो। यसैले कम्पनीलाई १० खर्ब डलरको उचाइमा पुर्याएको हो।
(न्यूयोर्क टाइम्स र गार्डियनमा प्रकाशित समाचारमा आधारित)