नेपाल एयरलाइन्सले सरकारसँग ५ अर्ब माग्यो | प्रस्ताव पर्यटन हुँदै अर्थ मन्त्रालयमा
काठमाडौं । नेपाल वायुसेवा निगमले एकैपटक ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको छ । वायुसेवा निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको हो । यो पर्यटन हुँदै प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । अर्थ मन्त्रालयले सहमति दिएपछि विमान किन्न सरकारले निगमलाई ५ अर्ब उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषदमा पुग्नेछ ।
कम्पनीको चुक्तापूँजी २० अर्ब र्पुयाउन सरकारसमक्ष प्रस्ताव गरिएको निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बताए । २० अर्ब चुक्तापुँजीका लागि पहिलो किस्ताबापत ५ अर्ब दिन प्रस्ताव गरिएको उनको भनाई छ । सरकारले क्रमैसँग थप १५ अर्ब चुक्ता पूँजी थप्नुपर्ने उनको भनाई छ । निगमको चुक्तापूँजी हाल ३६ करोड मात्रै छ । ठूलो कारोबार गर्ने कम्पनीको चुक्ता पूँजी थोरै हुँदा वित्तीय जोखिम उच्च हुन्छ ।
त्यसैकारण अब चुक्तापूँजी बढाएर त्यसलाई जहाजको संख्या वृद्धिमा लाग्नुपर्ने तर्क निगम व्यवस्थापनको छ । जसमा पर्यटनमन्त्री रविन्द्र अधिकारी सकारात्मक छन । अधिकारीले आफ्नो सय दिने कार्ययोजनामा ६ अटा ट्वीननटर विमान किन्न निगमलाई सैद्धान्तिक स्वीकृति दिने उल्लेख गरेका थिए । त्यसैअनुसार अहिले निगमका लागि ६ वटा नयाँ विमान किन्नका लागि प्रक्रिया अघि बढेको छ ।
महाप्रवन्धक कंशाकारले चालु आर्थिक वर्ष भित्रै ६ वटा नयाँ ट्वीनअटर विमान नेपाल आइसक्ने बताए । कंशाकारका अनुसार ६ वटा विमानमध्ये ३ वटाले क्षेत्री उडानहरु गर्नेछन । नेपालगञ्ज, विराटनगर र पोखराबाट क्षेत्रीय उडान गर्न एक÷एकवटा विमान प्रयोग गरिने उनले बताए । अब क्षेत्रीय उडानमा पनि केन्द्रित हुनुपर्ने भन्दै उनले निगमले संघीयताको मर्मअनुसार त्यस्ता क्षेत्रीय विमानस्थलमाट विभिन्न गन्तव्यमा उडान भर्न नयाँ ट्वीनअटर प्रयोग गर्ने बताए ।