प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार | कानूनमन्त्रीमा ढकाल, राज्यमन्त्री अर्यालको बढुवा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. यादव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । प्रम ओलीले नेपाल कम्युनिष्ट पार्टीका सांसद भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा फोरमका डा. सुरेन्द्र यादवलाई नियुक्त गरेका छन् ।
नवनियुक्त ढकाल मोरङ ३ बाट निर्वाचित सांसद हुन् । यसअघि उक्त पदमा शेरबहादुर तामाङ बहाल रहेका थिए । बंगलादेशमा एमबीबीएस पढ्ने छात्राका विषयमा दिएको अभिव्यक्तिका विषयमा चारैतिरबाट टीकाटिप्पणी हुन थालेपछि कानूनमन्त्री तामाङलाई पार्टीले राजीनामा दिन बाध्य बनाएको थियो । उनको राजीनामापश्चात् सो पदमा ढकाललाई नियुक्त गरिएको हो ।
त्यसैगरी नवनियुक्त भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री अर्याल यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिइन् । उनलाई सो पदबाट बढुवा गरिएको हो ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. यादव महोत्तरी–४ बाट निर्वाचित सांसद हुन् । आजको मन्त्रिपरिषद् विस्तारसँगै अब प्रम ओलीको मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ । नेपालको संविधानअनुसार प्रम ओलीले अब यसभन्दा बढी संख्याको मन्त्रिपरिषद् बनाउन पाउने छैनन् । नवनियुक्त सबै मन्त्री तथा सांसदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।