उपत्यका विकास प्राधिकरणले नदीको दायाँबायाँ छोड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गर्यो |
मदन लामिछाने
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ वटा नदीको दायाँबायाँ छोड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ । प्राधिकरणले बागमती, विष्णुमती, हनुमन्ते, मनोहरालगायत नदीको बहाव क्षेत्र निर्धारण गरेको हो ।
वागमती, विष्णुमती, हनुमन्ते र मनोहराको केन्द्रदेखि दायाँबायाँ २० मिटर जग्गा छोड्नुपर्ने छ । यसैगरी धोबीखोलामा ‘धोबीखोला आयोजना’ लागू भएको क्षेत्रमा आयोजनाले तोकेअनुसार र अन्य क्षेत्रमा ९ मिटर जग्गा छोड्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ ।
नदी किनारमा रहेको सार्वजनिक जग्गा संरक्षण गर्न तथा नदीमा बाढी आएका बेला हुने मानवीय क्षति न्यूनीकरण गर्नका लागि समेत तोकिएबमोजिम जग्गा छोड्नुपर्ने नियम बनाइएको हो । तोकिएअनुसारको जग्गामा कुनै पनि भौतिक संरचना निर्माण गर्न पाइँदैन । यसअघि बागमती नदीको केन्द्रदेखि ३० मिटर दायाँबायाँ छोड्नुपर्ने नियम थियो । तर, जनसंख्या वृद्धिसँगै आवासीय क्षेत्र बढेपछि प्राधिकरणले २० मिटरमा झारेको हो । २०२१ सालमा वागमतीको दायाँबायाँ १०० मिटर जग्गा छोड्नुपर्ने नियम रहेको बताइन्छ ।
कुन नदीमा कति जग्गा छोड्नुपर्ने ?
वागमतीमा २० मिटर
विष्णुमतीमा २० मिटर
हनुमन्तेमा २० मिटर
मनोहरामा २० मिटर
धोबीखोलामा ९ मिटर (आयोजना लागू भएकामा आयोजनाले तोकेअनुसार)
नख्खुखोलामा १२ मिटर
बल्खु खोलामा १२ मिटर
कर्मनासा (कोड्कु)मा १२ मिटर
साङ्लेखोलामा १२ मिटर
महादेवखोलामा १२ मिटर
करखुसी खोलामा ६ मिटर
इच्छुमतीमा ४ मिटर
सामाखुसीमा ४ मिटर
बाँकी अन्य खोलामा ४४ मिटर