वर्षमा १ सय २० दिन रोजगारी नपाउनेलाई निर्वाह भत्ता |
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वर्षमा १ सय २० दिन रोजगारी नपाउनेलाई सरकारले निर्वाह भत्ता दिने बताएका छन् । युवा परिषद जिल्ला युवा समिति मोरङ र नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले बुधवार विराटनगरमा आयोजना गरेको युवा उद्यमशीलता र रोजगारीको अवसर विषयक छलफलमा बेरोजागारलाई बर्षमा ६० दिनको ज्याला बराबरको निर्वाह भत्ता दिइने बताएका हुन ।
उनका अनुसार रोजगारी नपाएका परिवारका एक जना वयस्कलाई सरकारले वर्षमा १ सय २० दिन रोजगारी उपलब्ध गराउन नसकेको अवस्थामा त्यस्तो सरकारले उपलब्ध गराउने छ । स्थानीय तहमा चाँडै खुल््ने रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगारलाई मात्रै रोजगारी वा निर्वाह भत्ता प्रदान गरिनेछ । तर, स्थानीय तहमा सूचिकृत भएका बेरोजगारलाई सरकारले आह्वान गरेको रोजगारीमा जानुपर्ने उनले बताए । बेरोजगारी सूचिकृत भएकाले सरकारले उपलब्ध गराएको रोजगारीमा काम गर्न अस्वीकार गर्नेलाई बेरोजगारको सूचिबाट हटाउने र भत्ता समेत नदिइने उनको भनाइ छ ।
कार्यक्रमका सहभागी युवाले मुलुकमा रोजगारी सृजना गर्दै समृद्धिको बाटोमा जान सरकारले रोजगारी होइन रोजगारी सृजना हुने नीति ल्याउन आवश्यक भएको बताए ।