जोशीले पाए वर्षकै उत्कृष्ट उद्यमीको उपाधि |
काठमाडौं । गैरआवासीय नेपाली संघ अमेरिकाका संयोजक गौरी जोशी वर्षकै उत्कृष्ट उद्यमीको उपाधिले सम्मानित भएका छन् । उनले बेलायतबाट सञ्चालित नेपाल ब्रिटेन डट कमको ११औं वार्षिकोत्वसको अवसरमा ‘२०१८ को सर्वोत्तम उद्यमी’ अवार्ड पाएका हुन् । उनलाई गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकको अवसर पारेर संघका संरक्षक जीवा लामिछाने र अध्यक्ष भवन भट्टले संयुक्त रूपमा सो अवार्ड प्रदान गरेका हुन् ।
नेपाल ब्रिटेन डट कमले वेलायतस्थित नेपाली समुदायका १० जना समाजसेवीका अतिरिक्त विश्वभर छरिएका सफल नेपाली उद्यमीमध्येबाट जोशीलाई चयन गरेको थियो ।
सो अवसरमा संरक्षक लामिछानेले जोशीलाई सम्मान गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । उनले भने ‘गौरीजीको पौरख मेरो आखाँले देखेको छु, नेपालब्रिटेन डट कमले जोशीलाई सो अवार्डबाट सम्मान गरेको छ । यो निर्णय साच्चिकै राम्रो हो ।’ जोशी २१ वर्षअगाडि चितवनमा रहेको पुख्र्यौली जग्गा बेचेर पढाइको सिलसिलामा अमेरिका पुगेका हुन् ।
उनले सन् २००० मा टेक्सासको डालास युनिभर्सिटीबाट इन्फरमेशन टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् । आईटी क्षेत्रमा लोकप्रिय अमेरिकी कम्पनी एटी एन्ड टीमा जागिर शुरू गरेका उनले सन् २००७ मा व्यावसायिक गोरेटो तय गर्न सफल भएर भास्टिका नामको आईटी कम्पनी खोलेर विश्व आईटी बजारमा व्यवसाय शुरु गरेका थिए , अहिले भास्टिकाका करिब ५ हजार उत्पादन बजारमा स्थापित छन् ।
अमेरिकन, युरोपियन, वंगलादेशी, अफ्रिकन, वंगलादेशी, श्रीलंकाली मात्र होइन अष्टेलियाका नागरिकहरुलाई उनले काम दिएका छन् । उनका उत्पादनहरु अहिले एटी एन्ड टी, सिटी बैंक , अमेरिकन एयरलाइन्सदेखि वल्र्ड बैंकसम्म पुगेका छन् ।