काठमाडौं उपत्यकामा जग्गाको मूल्य आकाशियो | चक्रपथबाहिरका ठाउँमा सयदेखि ५ सय प्रतिशतसम्म मूल्य वृद्धि
काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षयता जग्गाको मूल्य ह्वात्तै बढेको छ । विशेष गरी चक्रपथबाहिरका ठाउँमा १ सयदेखि ५ सय प्रतिशतसम्मले जग्गाको मूल्य वृद्धि भएको छ । औसत रूपमा वार्षिक १० देखि ३० प्रतिशतसम्म मूल्य वृद्धि हुने गरे पनि यसपालि भने उपत्यकाका सबैजसो ठाउँमा भाउ बढेर छोइनसक्नु भएको हो ।
उपत्यकामा यसरी जग्गाको मूल्य वृद्धि हुनुमा मुख्यतया यस्ता कारणहरू छन् :
– सरकारले गाउँहरूलाई गाभेर नगरपालिका बनाउनु ।
– बाहिरी चक्रपथ निर्माण अघि बढ्नु ।
– उपत्यकाभित्र चार ठाउँमा स्मार्ट सिटी बनाउने कुरा उठ्नु ।
– राजधानी जोडिने वैकल्पिक मार्ग (काठमाडौं–तराई फास्ट ट्र्याक), टोखा–नुवाकोट सुरुङमार्ग, नौबिसे–धादिङ सुरुङमार्ग निर्माणको कुरा अघि बढ्नु ।
सरकारले विकास आयोजना बनाउने कुरा उठ्नेबित्तिकै भूमाफियाहरूले आयोजनास्थल वरपरका सबै खेतीयोग्य जमिन किनेर कब्जा गर्छन् । त्यसपछि बेच्नेहरू रित्तिन्छन् र किन्नेहरू भने जग्गा खोज्न थाल्छन् । त्यही मौकामा जग्गा दलालहरूले आफूले चाहेको मूल्यमा जग्गा किनबेच गराउँछन् ।
चाल्नाखेल एक वर्षअघिसम्म काठमाडौं जिल्लामा रहेको एउटा गाविस थियो । अहिले दक्षिणकाली नगरपालिकामा गाभिएको छ । गाविस हुँदा प्रतिआना १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्ममा जग्गा किनबेच हुन्थ्यो । नगरपालिकामा गाभिनेबित्तिकै जग्गाको मूल््य प्रतिआना ३ लाख रुपैयाँसम्म पुगेको छ ।
नगरपालिका बनिसकेपछि फास्ट ट्र्याकको कुरा उठ्यो । घरैछेउबाट फास्ट ट्र्याक जान्छ भन्दै जग्गाको मूल्य बढाइयो । जग्गा दलालहरू आएर बेच्न मिल्नेजति सबै जग्गा किनेपछि अहिले आनाको १० लाख रूपैयाँ पुगेको स्थानीयहरू बताउँछन् । यस क्षेत्रमा ९० प्रतिशत जमिन व्यवसायीले किनेर राखिसकेको बताइन्छ । ललितपुर महानगरपालिकामा गाभिएपछि खोकना क्षेत्रको जग्गाको मूल्य पनि आकाशिएको छ । पहिले फास्ट ट्रयाक र अहिले स्मार्ट सिटी बनाउने भनिएपछि त्यहाँको जग्गाको मूल्य छोइनसक्नु भएको खोकनावासी बताँउछन् । यहाँ अहिले जस्तोसुकै बाटो भए पनि आनाको १० लाख घटीमा जग्गा किनबेच हुँदैन ।
बाहिरी चक्रपथको पहिलो खण्ड पाइलट प्रोजेक्टका रूपमा चोभारदेखि सतुंगलसम्मको डीपीआर स्वीकृत गरी निर्माण प्रक्रिया अघि बढेको छ । १ वर्षअघिसम्म २÷३ लाख रुपैयाँ प्रतिआनामा कारोबार हुने चोभारमा अहिले १३ लाख रूपैयाँ प्रतिआनासम्मा किनबेच भएको छ ।
यस क्षेत्रमा १ वर्षको अन्तरमा जग्गाको मूल्य दोब्बरभन्दा बढी भएको छ । अहिले बाहिरी चक्रपथले ओगट्ने जग्गाभित्र १० लाख रुपैयाँ प्रतिआनामा किनबेच भइरहेको छ । त्योभन्दा यता बस्ती भएको क्षेत्रमा १५ लाख रुपैयाँसम्म पुगेको छ । उता डाँडाको फेदीमा पनि बाटोले छोएको जग्गा ९÷१० लाख रुपैयाँ प्रतिआना भनिरहेको स्थानियहरू बताँउछन् ।
टोखा क्षेत्र पनि यसरी नै जग्गाको मूल्य बढी रहेको छ । बूढानीलकण्ठ क्षेत्रमा पनि जग्गाको मूल्य ह्वात्तै बढेको छ । साँखु क्षेत्रमा पनि १ वर्षअघिसम्म २÷३ लाख रुपैयाँसम्ममा जग्गाको किनबेच भइरहेको थियो । अहिले भने बाहिरी चक्रपथ, स्मार्ट सिटी, नगरपालिका, मालपोत कार्यालय, सिन्धुपाल्चोक जोड्ने सडक सञ्जाललगायतका कारण देखाई प्रतिआना १० लाख रूपैयाँ घटी बाटोछेउको जग्गा हेर्न पनि सकिँदैन ।
भक्तपुरमा पनि सबै गाउँलाई नगरपालिका घोषणा गरेदेखि नै जग्गाको मूल््य आशिन थालेको हो ।