नवलपरासीको उद्योगबाट पेप्सीको उत्पादन सुरु, साढे दुई अर्बको लगानी |
साउन १६, काठमाडौं । बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नवलपरासीमा आफ्नो दोस्रो उद्योग सञ्चालनमा ल्याएको छ । कम्पनीले २ अर्ब ३९ करोडको लगानीमा नवलपरासीको रामग्राम–१० मा उद्योग स्थापना गरेको हो । यो उद्योग तीन महिना अघिदेखि सञ्चालनमा आएको हो । भारत र चीनमा आक्रमक बजार बिस्तार गरिरहेको पेप्सिले नेपाल पनि बजार बिस्तार गर्न अग्रसर भएको छ । यो प्लाण्टबाट ६४ हजार ८०० किलोलिटर पेप्सी सिसाको बोटलमा उत्पादन भइरहेको छ । दुई लाख ४३ हजार किलोलिटर पेप्सी प्लास्टिकको बोतलमा उत्पादन गरिरहेको छ । उद्योग २०७४ साउन १४ गते उद्योग विभागमा दर्ता भएर सञ्चालनमा आइसकेको बताईएको छ ।
उद्योगले शुरुमा सोडा उत्पादन गरेको र त्यसपछि पेप्सी,माउन्टेन ड्यु, मिरिन्डा, सेभेन अपलगायतको ब्रान्ड उत्पादन गरिरहेको बताइएको छ । उद्योग स्थापनामा आएपछि करिब दुई सय जनाले प्रत्यक्ष रोजागारी पाएका छन । नेपालमा अहिले पेप्सीको ४२ प्रतिशत बजार हिस्सा छ । बरुण वेभरेजमा रविकान्त जयपुरिया, वरुण जयपुरिया, रविकान्त जयपुरिया एण्ड सन्सका साथै स्टान्डर्ड चार्टर्ड पिइ एण्ड एआइओएन क्यापिटलको लगानी छ । बरुण वेभरेजको नेपालवाहेक अन्य ६ देशमा पनि उद्योग छ ।
वरुण बेभरेजले बहुराष्ट्रिय कम्पनी पेप्सिकोसँग १९९० तिरै जोडिएर नेपालमा उत्पादन गरिरहेको छ । कम्पनीको गत बर्षको वित्तीय विवरण अनुसार, आम्दानी चार अर्ब ८३ करोड रुपैयाँ गरेको छ । अघिल्लो बर्षको तुलनामा यो ३१ प्रतिशतले बढी हो । एक अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ५० करोड रुपैयाँ चालु पूँजी छ । २०० जनालाई नयाँ प्लाण्टमा रोजगारी दिन लागेको कम्पनीले गत वर्ष सरकारलाई १० करोड रुपैयाँभन्दा बढी कर तिरेको थियो ।
कम्पनीले पेप्सीका अतिरिक्त सेभेनअप, माउण्टेन ड्यु, मिरिन्डा, इभरभिस कार्बोनेटेड सफ्ट ड्रिङ्स उत्पादन गर्छ । साथै ननकार्बोनेटेड बेभरेजमा ट्रोपिकाना स्लाइस, सेभेन अप र निम्बुज उत्पादन गर्छ । कम्पनीका प्रमोटरहरुले नेपालमा पिज्जा हट, केएफसीको फ्रान्जाइजी पनि चलाइरहेका छन । कम्पनीले कोस्टा कफी, क्रिम बेल आइसक्रीम पनि नेपाल ल्याउन खोजिरहेका छ । यस बाहेक रिटेल मार्ट खोल्ने तयारीसमेत गरिरहेको बताइएको छ ।