भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म ‘टाइम कार्ड’ लागू | दुर्घटना न्यूनीकरण हुने अपेक्षा
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मनोहरा पुल–साँगा खण्डमा बढ्दो दुर्घटना न्यूनीकरणका लागि अभियान शुरू गरिएको छ । यो अभियानमार्फत सार्वजनिक एवम् मालवाहक सवारीसाधनलाई मङ्गलवारदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिने महानगरीय प्रहरी परिसर, भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रशिङबाट मात्रै बाटो काट्न सिकाउने काम गर्नेछ । साथै, सार्वजनिक सवारीसाधनलाई बस स्टपमा मात्र रोक्न लगाउने, सडक लेनको अनिवार्य पालना गर्न लगाउनेजस्ता काम पनि अभियानमार्फत हुने बताइएको छ ।
भक्तपुरको ६ लेन सडक र साँगासम्मको सडक दुर्घटनाको दृष्टिकोणले धेरै जोखीमपूर्ण भएकाले यो सडकमा सुरक्षित यातायातका लागि दशदिने अभियान थालिएकोे प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए । अभियानमा खटिएका प्रहरीले पर्चा बाँड्ने, सवारी चालक र पैदलयात्रुलाई सुरक्षाका लागि अपनाउनुपर्ने विषयमा परामर्श दिने र बस स्टपमा नरोक्ने, जथाभावी सवारी हाँक्ने, तीव्रगतिमा सवारी चलाउने, लेन पालना नगर्ने सवारीसाधनलाई तत्कालै कारबाहीस्वरूप जरीवाना लगाउने उनले जानकारी दिए । अभियान सञ्चालन गर्नुअघि यातायात व्यवसायीसँग दुर्घटना न्यूनीकरणका उपायबारे छलफल भएको र सोहीअनुसार कार्यक्रम तय गरिएको उनको भनाइ छ ।
दुर्घटना बढेपछि प्रहरीले साँगादेखि भक्तपुर आउँदा र जाँदा टाइम कार्ड प्रणाली लागू गरेको हो । टिपरको ठक्करबाट एकैपटक तीनजनाको ज्यान गएपछि प्रहरीले सोही दिनदेखि टाइम कार्ड लागू गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । साँगाबाट भक्तपुरतर्फ आउँदा र जाँदा सार्वजनिक तथा मालवाहक सवारीसाधनलाई टाइम कार्ड लागू गरिएको छ । यो व्यवस्थाअनुसार निर्धारित समयभन्दा छिटो सवारीसाधन चलाएको पाइएमा चालकलाई कारबाही गरिने बताइएको छ । प्रहरीले सडक दुर्घटनाको अर्को कारणका रूपमा देखिएको छाडा गाईवस्तु हटाउन सम्बन्धित नगरपालिकालाई अनुरोध गरिएको प्रहरीले बताएको छ । यद्यपि, नगरपालिकाले त्यसतर्फ चासो नदिएकाले प्रहरी आफैले हटाउने तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।