सडकमा नयाँ प्रविधिको प्रयोगः ‘ओटासिल’ छोडेर ‘आस्फाल्ट’ प्रयोगमा |

रुकुम । हाल नेपालमा प्रयोग हुँदै आएको ‘ओटासिल’ प्रविधिले सडक टिकाउ तथा गुणस्तर नहुँदा अहिले ‘आस्फाल्ट’ प्रविधिलाई प्रयोगमा ल्याइएको छ । रुकुम पूर्व र पश्चिममा निर्माणाधीन सडकमा ‘आस्फाल्ट’ प्रविधिको प्रयोग गरिएको हो । एशियाली विकास बैङ्क र नेपाल सरकारको लगानीमा रुकुम पूर्व–पश्चिममा ३० दशमलव २ किलोमिटर लम्बाइको सडक उक्त प्रविधिमा निर्माण हुने भएको हो ।
उक्त प्रविधिअन्तर्गत सडकमा ३० एमएम गुणस्तरको कालोपत्र गरिने बताइएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका र रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा उक्त सडक निर्माण गरिनेछ । आगामी ५ वर्षमा निर्माण भइसक्ने दुवै सडकको चौडाइ ६ मिटरको हुनेछ ।
जिल्ला प्राविधिक कार्यालयका निमित्त जिल्ला इञ्जिनीयर तथा ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइका प्रमुख रामशरण आचार्यले भने, ‘दुवै सडक निर्माणका लागि भ्याटसहित ८९ करोड ८० लाख ४० हजार रुपैयाँमा पीएच÷शङ्करमाली निर्माण सेवा कम्पनीसँग सम्झौता भइसकेको छ ।’ उनका अनुसार सडक निर्माणका लागि सडक खण्डमा पर्ने जग्गाको स्वामित्व लिने प्रक्रिया पनि अन्तिम चरणमा पुगिसकेको छ ।