प्रम ओलीको चीन भ्रमण : सम्झौतामा परे आठ ठूला आयोजना | सिमेण्ट उद्योगमा १४.४० अर्ब लगानी आउने, ८७९ मेगावाट क्षमताका चार विद्युत् परियोजन निर्माण गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने चीन भ्रमणका क्रममा बुधवार विभिन्न ठूला आठ कम्पनी र आयोजना निर्माण र लगानीसम्बन्धी सम्झौता भएका छन् । प्रम ओलीको उपस्थितिमा भएका ती सम्झौतामध्ये चिनियाँ लगानीमा नेपालमा ८ सय ७९ मेगावाट क्षमताका चार परियोजना निर्माण गर्नेदेखि सिमेण्ट उद्योगमा चिनियाँ लगानी भित्र्याउनेसम्मका सम्झौता भएका छन् ।
बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा बुटवल पावर कम्पनी र चिनियाँ कम्पनीको सहकार्यमा निर्माण हुन लागेको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गर्न सम्झौता भएको छ ।
भ्रमणका क्रममा सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको त्रिशूली गल्छी जलविद्युत् आयोजना लगानीसहित निर्माण गर्ने सम्झौतासमेत भएको छ । सो आयोजना अगाडि बढाउन यसअघि नै सिद्धकाली पावरले चिनियाँ लगानीकर्तासँग प्रारम्भिक सम्झौता गरेको थियो । चिनियाँ कम्पनी डोङफ्याङ इण्टरनेशनल कर्पोरेशनले सो परियोजना निर्माण गर्ने भएको छ ।
त्यसैगरी, म्याग्दी जिल्लामा रहेको हाइड्रो सोलुशन प्रवद्र्धक रहेको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण गर्नेसम्बन्धी सम्झौता भएको छ । दैनिक ३ हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने हुवासिन सिमेण्ट उद्योग स्थापनाका लागि चिनीयाँ लगानीकर्ताले १४ अर्ब ४० करोड लगानी गर्ने सम्झौता भएको छ । सो परियोजनाले १ हजार जनालाई रोजगारी दिनेछ । कम्पनीले आगामी ६ महीनाभित्र कारखाना स्थापना गर्ने बताइएको छ ।
सोही अवसरमा पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको विरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस्तै, फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो परियोजनामा ४ करोड ६० लाख डलर लगानी गरिनेछ ।
यस्तै, १ सय ६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्र्माणका लागि हाइड्रो सोलुशनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र चीनको युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेण्ट कम्पनीबीच संयुक्त आयोजना निर्माण गर्ने सम्झौतामा भएको छ ।
सिउरी न्यादी जलविद्युत् आयोजना निर्माणका लागि स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईं र चाइना नेशनल इलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीबीच सम्झौता भएको छ ।
नेपाल पश्मिना उद्योग सङ्घ र ओबोर परियोजनाअन्तर्गत अन्तरराष्ट्रिय व्यापार प्लेटफर्मबीच २ लाखदेखि ५ लाख थान पश्मिना खरीदका लागि सम्झौता भएको छ ।