सिद्दकाली पावर कम्पनीमा चिनियाँ लगानी भित्रिँदै | आगामी असोजदेखि निर्माण शुरू, साढे ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । सिद्घकाली पावर कम्पनीले निर्माण शुरू गरेको ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी आयोजनामा चिनियाँ लगानी आउने भएको छ । सिद्घकाली पावर कम्पनी र तोङफाङ इलेक्ट्रिक इण्टरनेशनल कर्पाेरेशनबीच उक्त आयोजनाको इञ्जिनीयरिङ, प्रोक्योरमेण्ट, कन्ष्ट्रक्शन एण्ड फाइनान्स (ईपीसीएफ) मोडलमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको हो ।
बुधवार पेचिङस्थित नेपाली दूतावासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र कर्पाेरेशनका उपाध्यक्ष चेन च्यानले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको सिद्दकाली पावरले जानकारी दिएको छ । कम्पनीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमा चीन भ्रमण टोलीमा सहभागी हुनुहुन्छ ।
सम्झौताअनुसार चिनियाँ कम्पनीले लगानीसहित आयोजना सम्पन्न गरी कम्पनीलाई हस्तान्तरण गर्नेछ । आयोजना सम्पन्न भई सञ्चालनमा आएको १ वर्षपछि चिनियाँ लगानी चुक्ता गर्ने जिम्मेवारी सिद्घकाली पावर कम्पनीको रहने कम्पनीले बताएको छ ।
आयोजनाको बाँधस्थल नुवाकोटको रातमाटेमा र विद्युत्गृह धादिङको मास्टारमा रहनेछ । यो सम्झौताअघि नै निर्माण शुरू गरिएको यो आयोजना सम्झौतापछि चिनियाँ लगानी एवम् प्रविधिबाट सम्पन्न हुनेछ । आयोजनाको स्वदेशी लगानीको व्यवस्था गर्ने जिम्मेवारी लक्ष्मी बैङ्कको नेतृत्वमा बन्ने कन्सोर्सियमको हुने भएको छ ।
आयोजनामा सिभिलको कार्य चीनको बहुचर्चित चाइना रेलवे ब्यूरो २ ले गर्ने र इलेक्ट्रोमेकानिकलको कार्य तोङफाङ इलेक्ट्रिक इण्टरनेशनल कर्पाेरेशनले गर्नेछ । आयोजनाको निर्माणकार्य २०७५ असोजदेखि शुरू गरी साढे ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निकट भविष्यमै स्थानीय र सर्वसाधारणलाई शेयर जारी गर्न आवश्यक प्रक्रियासमेत शुरू गरेको कम्पनीले बताएको छ ।