दाङ औद्योगिक क्षेत्र निर्माणको काम आगामी आवदेखि | औद्योगिक क्षेत्र सामुदायिक वनमा, सम्भाव्यता अध्ययनका २० लाख रुपैयाँ विनियोजन
घोराही । घोराही–उपमहानगरपालिकाको ३ र ५ नम्बर वडामा पर्ने सरकारी जग्गामा बनाउने भनिएको औद्योगिक क्षेत्र आगामी आर्थिक वर्षदेखि शुरू गरिने भएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा व्यवस्थापनको काम सम्पन्न भएको दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका महासचिव नरेश कार्कीले जानकारी दिए । सो क्षेत्रमा रहेको सामुदायिक वनमा औद्योगिक क्षेत्र निर्माण गरिने भएको छ ।
रुख कटान धेरै गर्नु नपर्ने भएकाले सो क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा प्रस्ताव गरिएको कार्कीले बताए । ‘बजारदेखि टाढा भएकाले वातावरण प्रदूषण पनि कम हुने भएकाले सो क्षेत्र रोजिएको हो,’ उनले भने, ‘स्थानीयसमेत यस स्थानमा औद्योगिक क्षेत्र बनाउन तयार भएका छन् ।’
औद्योगिक क्षेत्र बनाउने भनिएको जग्गा सामुदायिक वन र सर्यु सामुदायिक वनको स्वामित्वमा रहेको छ । करीब ९ सय बिगाह क्षेत्रफल रहेको उक्त जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्न ती वनका सदस्य तथा पदाधिकारीले सहमतिसमेत दिइसकेका छन् ।
चालू आर्थिक वर्षभित्रै सम्भाव्यता अध्ययनको काम सकिने कार्कीले जानकारी दिए । उनका अनुसार एक निजी कम्पनीले अहिले स्थलगत सम्भाव्यता अध्ययनसहित लागत अध्ययन गरिरहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्भाव्यता अध्ययनका लागि चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘केही व्यक्तिगत जग्गामा मुआब्जा दिएर खरीद गर्नुपर्ने देखिन्छ,’ कार्कीले भने, ‘केही घरलाई क्षतिपूर्तिसहित स्थानान्तर गर्नुपर्ने छ ।’
औद्योगिक क्षेत्र स्थापना भइसकेपछि सडकलगायत भौतिक पूर्वाधारमा राज्यले लगानी गर्नेछ । २४ सै घण्टा विद्युत् आपूर्ति भइरहने भएकाले उद्योगको उत्पादकत्वसमेत बढ्ने व्यवसायीहरू बताउँछन् । लोडशेडिङ, लो भोल्टेज र उद्योगको निर्माण लागत बढ्दा व्यवसायी मर्कामा परिरहेका छन् । पछिल्लो समय दाङमा जग्गाको मूल्य आकाशिएपछि उद्योगीलाई उद्योग स्थापनाभन्दा आवश्यक पर्ने जग्गा खरीदका लागि धेरै लागत बढ्ने गरेको छ ।
यसअघि घोराहीको करौंती डाँडास्थित ल्यान्फिल साइडको जग्गामा ओद्योगिक क्षेत्रका लागि प्रस्ताव गरिए पनि जग्गा अपुग भएपछि साविकको धर्ना गाविसमा प्रस्ताव गरिएको थियो ।