जापानसँगको उडान सम्झौतामा पुनरवलोकन | अब हप्तामा १४ वटासम्म सीधा हवाई उडान हुने, नेपाली एयरलाइन्सहरूले जापानको हानेडा विमानस्थलबाहेक अन्यमा सीधा उडान गर्न पाउने
काठमाडौं । नेपाल र जापानबीच हालै हवाई उडानसम्बन्धी सम्झौतामा पुनरवलोकन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारी र जापानी उड्ययन अधिकारीबीच भएको वार्तापछि सम्झौता पुनरवलोकन भएको मन्त्रालयले जानकारी दिएको हो । यसका लागि पर्यटन सचिव कृष्ण देवकोटा नेतृत्वको टोली अहिले जापान भ्रमणमा छ ।
दुवै देशबीच भएको सम्झौता २५ वर्षपछि हालै पुनरवलोकन गरिएको हो । यो सम्झौतासँगै अब नेपाल र जापानबीच हप्तामा १४ पटकसम्म सीधा हवाई उडान हुने भएको छ । अब नेपाली एयरलाइन्सहरूले जापानको हानेडा विमानस्थलबाहेक अन्यमा सीधा उडान गर्न सक्नेछन् ।
यसअघि नेपाली एयरलाइन्सले जापानको ओसाका विमानस्थलमा मात्र यस्तो सुविधा पाउँथे । अब नेपालबाट जापानमा दिनमा दुईवटा सीधा उडान हुनेछ । साथै यही असार ११ गते नेपाल एयरलाइसन्सले ल्याउने भनिएका वाइडबडी एयसबसलाई जापानमा सीधा उडान सेवा गर्न यो सम्झौताले बाटो प्रशस्त गरेको छ ।